पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज ।
वीरगञ्जमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आरोपमा जनप्रतिनिधि र बहालवाला प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित आठ जना पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा छापा मारेर सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल सहित आठ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भदौ १२ गते राति करिब १०ः३० बजे उक्त क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। सूचनाका आधारमा क्यासिनोमा छापा मार्दा नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराउने तथा जुवा खेलाउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकामध्ये सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय गाउँपालिका अध्यक्ष जसवन्त यादवसमेत छन्। यादव नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्। निर्वाचित जनप्रतिनिधि नै क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा नियन्त्रणमा परेपछि घटनालाई थप गम्भीर रूपमा हेरिएको छ।
त्यसैगरी प्रहरी निरीक्षक प्रदीप पौडेल पनि नियन्त्रणमा परेका छन्। पौडेल इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक हुन् भने उनी स्याङ्जाका रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका अन्य व्यक्तिहरूमा चन्दन सहनी, प्रकाश बैठा लगायत रहेका छन्। प्रहरीले भने घटनामा संलग्न सबै व्यक्तिको भूमिकाबारे अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले घटनामा संलग्न जोसुकै भए पनि अनुसन्धानको दायरामा ल्याइने स्पष्ट पारेका छन्। उनले पद वा पहुँचका आधारमा कसैलाई छुट नदिइने भन्दै क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गतिविधिमाथि प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको बताए।
प्रहरीका अनुसार अनुसन्धानबाट आरोप पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
यस घटनाले वीरगञ्जका क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेलाउने गतिविधिमाथि प्रहरीको निगरानी र कारबाहीलाई थप कडाइ गर्ने संकेतसमेत दिएको छ।
एसपी पवनकुमार भट्टाईको नेतृत्वमा पर्सा प्रहरीले पद र पहुँचभन्दा कानुनलाई प्राथमिकता दिने सन्देश दिएको छ। यद्यपि नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथिको आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।