पर्सा पोस्ट, फागुन ०७ गते, वीरगञ्ज।
वीरगञ्ज पब्लिक कलेज (BPC) ले “The Future of Work, Innovation and Sustainability in Global Management Practice” विषयमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। University Grants Commission Nepal (UGC Nepal) को सहयोगमा सञ्चालन हुने उक्त सम्मेलन वीरगञ्जमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलनका रूपमा आयोजना हुन लागेको हो।
कलेजका अनुसार सम्मेलनको मुख्य उद्देश्य विश्व व्यवस्थापन अभ्यासमा देखिएका नयाँ प्रवृत्ति, डिजिटल रूपान्तरण, नवप्रवर्तन, दिगोपन तथा भविष्यको कार्यपरिवेशसम्बन्धी विषयमा गहन शैक्षिक बहस र विमर्श गर्नु रहेको छ। सम्मेलनमा नेपालसहित क्यानडा, भारत, पोल्याण्ड, बंगलादेश तथा दक्षिण अफ्रिकाबाट प्राध्यापक, अनुसन्धानकर्ता, नीति निर्माता, उद्योगी व्यवसायी तथा विद्यार्थीहरूको सहभागिता रहनेछ।
क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले नेपाली उच्च शिक्षालाई विश्वस्तरमा चिनाउन तथा अनुसन्धान–आधारित शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यसले स्थानीय स्तरका विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।
शैक्षिक संयोजक इन्जिनियर जयकिशन कुमारका अनुसार सम्मेलनमा १८० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने छन्। प्रस्तुत हुने शोधपत्रहरू व्यवस्थापन (Management) क्षेत्रका Master’s, MPhil तथा PhD Scholars द्वारा तयार पारिएका अनुसन्धानमूलक कार्यहरू हुनेछन्। उहाँले यस्तो कार्यक्रम विशेषगरी स्नातकोत्तर तथा पीएचडी तहका विद्यार्थीहरूका लागि अत्यन्त लाभदायक हुने बताउनुभयो।
सम्मेलनका मुख्य आकर्षणहरूमा विभिन्न देशका प्रमुख वक्ताहरू (Keynote Speakers) का प्रस्तुति, प्यानल छलफल, अन्तरक्रिया सत्र तथा उत्कृष्ट शोधपत्रलाई प्रकाशनको अवसर रहनेछ। आयोजकले अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल विस्तार, अनुसन्धान सहकार्य प्रवर्द्धन तथा दिगो व्यवस्थापन अभ्यासबारे नयाँ दृष्टिकोण विकास गर्ने अपेक्षा गरेको जनाएको छ।
वीरगञ्ज पब्लिक कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय भूमिका खेल्दै आएको छ। कलेजले सम्मेलनमार्फत भविष्यको व्यवस्थापन अभ्यासमा नवीन सोच, दिगोपन र नवप्रवर्तन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
उक्त सम्मेलनमा सञ्चारकर्मी, शिक्षाविद्, अनुसन्धानकर्ता तथा सरोकारवाला निकायहरूलाई सक्रिय सहभागिताका लागि कलेज प्रशासनले अनुरोध गरेको छ।