पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज ।
बडादशैँको अवसरमा वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा लागेको मेलामा लायन्स क्लबले ६०० भन्दा बढी श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरी सेवामूलक कार्यक्रम सम्पन्न गरेको छ।

महाअष्टमीको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज लाइफ लाइन, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम र लियो क्लब अफ वीरगञ्जको संयुक्त आयोजनामा प्रसाद वितरण कार्यक्रम गरिएको हो। गहवामाईको दर्शन गर्न देश तथा विदेशबाट आएका श्रद्धालु भक्तजनलाई प्रसाद खुवाएर सेवा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ वीरगञ्ज लाइफ लाइनका सचिव लालबाबु सिंहले जानकारी दिए।

लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दप्रसाद कानुको नेतृत्वमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज लाइफ लाइनका अध्यक्ष एवं दन्तरोग विशेषज्ञ डा. मनोज उपाध्याय प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज सुप्रिमका अध्यक्ष पियुष दारुका, लियो क्लब अफ वीरगञ्जका अध्यक्ष राज रौनियार, लायन्स क्लब अफ वीरगञ्जका सहसचिव बन्सराजप्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो। त्यसैगरी लियो क्लबका सदस्यहरू सिद्धार्थकुमार माली, झलक गुप्ता, राजीव सर्राफ, रामपुकार यादव, सुशीलकुमार कुशवाहालगायतले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि डा. मनोज उपाध्यायले ‘सेवा नै धर्म हो, हामी सेवा गर्छौँ गर्वका साथ’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लबले विश्वभर विभिन्न सामाजिक तथा सेवामूलक कार्य गर्दै आएको बताए।
नेपालकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादशैँको महाअष्टमीका दिन गहवामाई मन्दिरमा लाग्ने मेलामा ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेको उल्लेख गर्दै उनले भक्तजनलाई थोरै भए पनि प्रसाद खुवाएर सेवा गर्न पाउँदा आफू निकै हर्षित भएको बताए। उनले यस अवसरमा वीरगञ्जवासीसहित देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बडादशैँ, दीपावली र छठ पर्वको हार्दिक शुभकामना पनि व्यक्त गरे।
त्यसैगरी लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दप्रसाद कानुले गहवामाई मेला वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए। मेलामा सहभागी श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरी सेवा कार्यमा सहयोग पुर्याउने लायन्स तथा लियो क्लबका सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति उनले आभार व्यक्त गरे।
चाडपर्वको समयमा धार्मिक आस्था र सामाजिक सद्भावलाई बलियो बनाउँदै सेवाभावलाई व्यवहारमा उतार्नु आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष कानुले सबैमा बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरे।
लायन्स तथा लियो क्लबले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमले धार्मिक मेलामा आउने श्रद्धालु भक्तजनलाई सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व, आपसी सहकार्य र मानवीय सेवाको भावनालाई थप प्रोत्साहन गरेको आयोजकले जनाएको छ।