पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज ।
समाचार सम्प्रेषण गरेको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाउँदै व्यवसायी निरञ्जन अग्रवाललाई कडा चेतावनी दिएको छ। सञ्चारकर्मीलाई धम्क्याउने, त्रसित पार्ने तथा स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने गतिविधि तत्काल बन्द नगरे कडा आन्दोलन सहित प्रतिकारमा उत्रिने चेतावनी सङ्गठनले दिएको हो।
न्युज खोज तलाश डटकमका सञ्चालक, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका सदस्य तथा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश परिषद् सदस्य भरत सर्राफलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिइएको घटनाप्रति आपत्ति जनाउँदै प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिका सचिव रञ्जीत पाण्डेयले विज्ञप्ति जारी गरी उक्त घटनाको घोर भर्त्सना गरेका छन्।
विज्ञप्तिमा व्यावसायिक साझेदारसँगको आन्तरिक विवादका विषयमा तथ्य र सूचनाका आधारमा समाचार सम्प्रेषण गरेकै कारण सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिनु दुःखद्, खेदजनक र निन्दनीय भएको उल्लेख गरिएको छ।
समाचारप्रति कुनै आपत्ति वा असहमति भए कानुनी प्रक्रिया अपनाउने, प्रेस काउन्सिल नेपालमा उजुरी दिने वा अन्य कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै धम्की र गुण्डागर्दी शैली प्रदर्शन गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने प्रेस सेन्टरले स्पष्ट पारेको छ।
प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिले पत्रकार सर्राफलाई धम्की दिएको भनिएका व्यवसायी अग्रवालमाथि तत्काल निष्पक्ष छानबिन गरी दोषी ठहरिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, पत्रकारहरूले निर्भयतापूर्वक समाचार सम्प्रेषण गर्न पाउने वातावरण निर्माण गर्नुका साथै सञ्चारकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
यसैबीच, प्रेस सेन्टर नेपाल पर्सा जिल्ला कार्यसमितिले पनि पत्रकार सर्राफलाई दिइएको धम्कीको घोर भर्त्सना गर्दै घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेको छ। प्रेस सेन्टर पर्साका सचिव अजित कुमार भुजेलद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्क्याउने कार्यप्रति विरोध जनाउँदै सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।
पत्रकारले समाचार लेखेकै आधारमा धम्की, दबाब र असुरक्षाको सामना गर्नुपर्ने अवस्था लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथिको गम्भीर चुनौती भएको भन्दै प्रेस सेन्टरले यस्ता गतिविधि रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्रेस स्वतन्त्रताको रक्षा, सञ्चारकर्मीको सुरक्षा र कानुनी शासनको प्रत्याभूति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने मागसमेत गरिएको छ।