पर्सा पोस्ट , फागुन ०१ गते, बिरगंज ।
बिरगंजस्थित गौतम स्कुलमा सामाजिक अध्ययन विषयसँग सम्बन्धित कक्षा ७ द्वारा आयोजित सांस्कृतिक नृत्य उत्सव तथा कक्षा ८ द्वारा आयोजित सांस्कृतिक फुड फेस्ट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
विद्यालयका अनुसार प्रत्येक वर्ष आयोजना हुँदै आएको यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सिर्जनशीलता, अनुशासन र सांस्कृतिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। दुई दिनसम्म सञ्चालन भएको सांस्कृतिक फुड फेस्टमा कक्षा ८ का विद्यार्थीहरूले विभिन्न स्वादिष्ट परिकार तयार गरी स्टलमार्फत प्रदर्शन गरेका थिए।
कार्यक्रममा परम्परागत नेपाली खाना, स्थानीय परिकारदेखि आधुनिक फास्टफुडसम्मका विविध परिकार समावेश गरिएको थियो। विद्यार्थीहरूले आफैं व्यवस्थापन, बिक्री र प्रस्तुतीकरण गरेकाले उनीहरूको व्यवहारिक ज्ञान र उद्यमशीलता क्षमतामा समेत वृद्धि भएको विद्यालयले जनाएको छ।
त्यसैगरी कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले हस्तकला प्रदर्शनी आयोजना गरेका थिए। प्रदर्शनीमा कागज, कपडा, माटो, पुनःप्रयोगयोग्य सामग्री तथा स्थानीय स्रोत–साधनबाट तयार पारिएका आकर्षक हस्तनिर्मित सामग्रीहरू प्रदर्शन गरिएको थियो। विद्यार्थीहरूले आफ्नै सिर्जनशीलता र सीपको उत्कृष्ट नमुना प्रस्तुत गर्दै आफ्नो प्रतिभा उजागर गरेका थिए।
सांस्कृतिक नृत्य उत्सव अन्तर्गत कक्षा ७ का विद्यार्थीहरूले नेपालका विभिन्न जातजाति, धर्म र संस्कृतिसँग सम्बन्धित परम्परागत भेषभूषामा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। गुरुङ, नेवार, मधेसी, थारु लगायत विविध समुदायका कला, संस्कार र पहिचान झल्किने प्रस्तुतीले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न धर्म–संस्कृतिप्रति सम्मान र सहिष्णुता अभिवृद्धि गर्ने सन्देशसमेत दिएका थिए।
विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिँदै आएको जनाएको छ। नृत्य, खेलकुद, चित्रकला, वक्तृत्वकला, स्पिच प्रस्तुति, हस्तकला तथा खाना तयारी जस्ता गतिविधिमा विद्यार्थीहरूको नियमित सहभागिताले उनीहरूमा आत्मविश्वास, समूहमा काम गर्ने क्षमता, नेतृत्वदक्षता तथा प्रस्तुतीकरण सीपको विकास भइरहेको बताइएको छ। यस्ता गतिविधिले विद्यार्थीहरूको मानसिक, बौद्धिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विद्यालय प्रशासनको विश्वास छ।
कार्यक्रममा विद्यालयका सञ्चालक सोनम लामा तथा नूतन सरावगी, प्रिन्सिपल गणेश क्षेत्री, शिक्षक–शिक्षिका, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले विद्यार्थीहरूको प्रतिभा, सक्रियता र व्यवस्थापन क्षमताको प्रशंसा गर्दै यस्ता रचनात्मक कार्यक्रमले शिक्षालाई व्यवहारिक, जीवनोपयोगी र रमाइलो बनाउने धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक सौराज प्रधानले गरेका थिए।