पर्सा पोस्ट, फागुन ०१ गते, वीरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तलाई आज वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रमका क्रममा स्थानीयले अनौठो शैलीमा स्वागत गरेका छन्। घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेका पन्तलाई स्थानीय बासिन्दाले काँबर बोकाएर टोल–टोलमा घुमाउँदै प्रचार गराएका हुन्।
स्थानीयले बोकेको काँबरको अगाडि र पछाडि रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको फोटो झुण्ड्याइएको थियो। उक्त दृश्यले चुनावी माहोल थप उत्साहित बनेको देखिन्थ्यो भने घरदैलो कार्यक्रम हेर्न ठूलो संख्यामा स्थानीयको भीड लागेको थियो।
घरदैलोको क्रममा विभिन्न स्थानमा स्थानीयहरूले उम्मेदवार पन्तलाई टीका, माला र खादा लगाएर स्वागत गरेका थिए। स्थानीय बासिन्दाले यसपटकको निर्वाचनमा आफ्नै वडाबाट रास्वपालाई अग्रस्थानमा राखेर जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए।
केही दिनअघि वीरगंजमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको रोड शो सम्पन्न भएपछि पर्सा–१ मा रास्वपाको चुनावी माहोल झनै तातेको देखिएको छ। त्यसयता ‘घण्टी’ चुनाव चिन्हप्रति मतदाताको आकर्षण बढ्दै गएको स्थानीयहरूको भनाइ छ। पछिल्ला दिनहरूमा उम्मेदवार पन्त जहाँ पुग्छन्, त्यहाँ मतदाताले फरक–फरक शैलीमा स्वागत गर्दै चुनावी प्रचारलाई उत्सवझैँ बनाइरहेका छन्।
घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। उम्मेदवार पन्तले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, सुशासन र पारदर्शितामुखी राजनीतिका आफ्नो एजेन्डाबारे जानकारी गराएका थिए ।