पर्सा पोस्ट, चैत २६ गते, वीरगञ्ज।
काठमाडौंको तारकेश्वर–४, पुरानो गुह्येश्वरीस्थित सृजना ज्ञानसागर माध्यमिक विद्यालयमा प्रि-स्कूल तह (ECD) का विद्यार्थीहरूको दीक्षान्त समारोह तथा ‘सृजना दर्पण’ पुस्तक विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वि.सं. २०४४ मा स्थापना भएको उक्त विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै अनुशासन, मूल्यमा आधारित शिक्षण र समग्र व्यक्तित्व विकासमा विशेष पहिचान बनाउँदै आएको छ।
विद्यालयको आधारभूत तहको सभाहलमा आयोजित कार्यक्रममा प्रारम्भिक बालविकास तहबाट Integrated Level मा स्तरोन्नति भएका विद्यार्थीहरूको UKG Graduation Day विशेष उत्साहका साथ मनाइएको थियो। कार्यक्रमको अध्यक्षता संस्थापक प्राचार्य राजेन्द्र प्रसाद फुयालले गर्नुभएको थियो।
कार्यक्रममा प्रशासन प्रमुख सीता कुमारी भुर्तेल फुयाल, आधारभूत तह संयोजक जनार्दन अर्याल, अतिरिक्त क्रियाकलाप प्रमुख नवराज उप्रेती, प्रि-स्कूल इन्चार्ज लक्ष्मी कोइराला, शिक्षक-शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्राचार्य फुयालले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम, आत्मविश्वासपूर्ण अभिव्यक्ति तथा उल्लासमय वातावरणले समारोहलाई थप आकर्षक बनाएको थियो। दीक्षित सबै विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
यसै अवसरमा विद्यालयको शैक्षिक गतिविधि, मूल्य-दर्शन, उपलब्धि र भविष्यको योजना समेटिएको ‘सृजना दर्पण’ नामक पुस्तकको विमोचन पनि गरिएको थियो। उक्त पुस्तक प्राचार्य राजेन्द्र प्रसाद फुयाल र प्रशासन प्रमुख सीता फुयालले संयुक्त रूपमा विमोचन गर्नुभएको हो।
पुस्तकमा विद्यालयका शैक्षिक अभ्यास, नवीन शिक्षण विधि, सह-शैक्षिक गतिविधि, नैतिक मूल्य तथा सामाजिक उत्तरदायित्वलाई समेटिएको जनाइएको छ।
कार्यक्रममा बोल्दै प्रि-स्कूल इन्चार्ज लक्ष्मी कोइरालाले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय र अभिभावकबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
त्यस्तै, सभापति समेत रहेका प्राचार्य फुयालले प्रारम्भिक शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै चरित्र, अनुशासन र सकारात्मक जीवनदृष्टि विकासमा विद्यालय प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक उद्धव फुयालले गर्नुभएको थियो।