पर्सा पोस्ट, चैत २५ गते, वीरगञ्ज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही तथा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै नेकपा एमाले पर्साले कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।
बुधवार वीरगञ्जस्थित नगर सभागृहमा आयोजित नेकपा एमाले पर्साको जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलाले यस्तो निष्कर्षसहित निर्णय गरेको हो। भेलामा सहभागी स्थानीय नेताहरूले पार्टी संगठनभित्र देखिएका कमजोरीहरू हटाउँदै नेतृत्वको निर्देशन र निर्णयअनुसार संगठनलाई सशक्त रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा केन्द्रिय सदस्यहरू प्रभु हजरा र निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष विचारी प्रसाद यादव, नेताहरू जालिम मियाँ, रुपेश पाण्डे, जन्नत अन्सारी तथा जिल्ला सचिव महेश दासलगायतले मन्तव्य व्यक्त गर्दै पार्टी एकता, अनुशासन र संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने धारणा राखेका थिए।
भेलाको अध्यक्षता जिल्ला कमिटीका अध्यक्ष डा. विशम्भर कुमार शर्माले गरेका थिए। कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा पालिका तहका कमिटी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी, पोखरिया नगरपालिका प्रमुख प्रधुम्न चौहान, पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिका प्रमुख सिघासन साह तेली, जिल्ला समन्वय समिति उपप्रमुख पुरन पटेल तथा विभिन्न पालिकाका उपप्रमुखहरू सहितका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
भेलाले पार्टीलाई थप सुदृढ र व्यवस्थित बनाउँदै आगामी दिनमा संगठन विस्तारलाई तीव्रता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।