पर्सा पोस्ट, साउन २३ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले सडक विस्तारका क्रममा मुख्य सडक तथा बजार क्षेत्रमा देखिएका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित रूपमा झुन्डिएका बिजुली तथा अन्य तार व्यवस्थापन गर्ने अभियानलाई तीव्रता दिएको छ। नागरिकको सुरक्षा, सहज आवागमन तथा नगरको सौन्दर्य कायम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।
महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा नगरभित्र बिग्रिएका सडकको मर्मत, खाल्डाखुल्डी पुर्ने तथा काम नलाग्ने र जोखिमपूर्ण तार हटाउने कार्य भइरहेको हो।
पछिल्लो समय सडक विस्तारका क्रममा डोजरको प्रयोगपछि विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका कारण पैदलयात्री तथा सवारीचालकले सास्ती खेप्दै आएका थिए। त्यस्तै, सडक किनारका पोलहरूमा जथाभावी झुन्डिएका पुराना तथा प्रयोगविहीन तारले दुर्घटनाको जोखिमसमेत बढाएको भन्दै स्थानीयले व्यवस्थापनको माग गर्दै आएका थिए।
सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीका अनुसार अहिले मुख्य बजार क्षेत्रलाई प्राथमिकतामा राखेर सडकका जोखिमपूर्ण खाल्डाखुल्डी तत्काल पुर्ने, भत्किएका स्थानमा मर्मत गर्ने तथा पोलमा रहेका काम नलाग्ने र अलपत्र तार हटाउने काम तीव्र गतिमा अघि बढाइएको छ। नगरलाई व्यवस्थित, सुरक्षित, सफा र आकर्षक बनाउने उद्देश्यअनुसार आगामी दिनमा अन्य वडाहरूमा समेत अभियान विस्तार गरिने उहाँले बताउनुभयो।
महानगरले सडक विस्तारसँगै देखिएका समस्या तत्काल समाधान गर्दै विकास निर्माणका कामलाई नागरिकमैत्री बनाउने नीति लिएको जनाएको छ। यस अभियानबाट मुख्य बजार क्षेत्रमा सवारी आवागमन थप सहज हुने, पैदलयात्रीलाई सुरक्षित हिँडडुल गर्न सहयोग पुग्ने तथा वर्षायाममा खाल्डाखुल्डीका कारण हुने दुर्घटनाको जोखिम उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।
।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले पनि महानगरको यस अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सडक मर्मत र तार व्यवस्थापनसँगै निर्माण सम्पन्न भएका सडकको नियमित अनुगमन र दीर्घकालीन मर्मतसम्भारमा समेत ध्यान दिन आग्रह गरेका छन्। महानगरले नागरिकको सुझावलाई समेट्दै आवश्यक पूर्वाधार व्यवस्थापनका कामलाई निरन्तर अघि बढाइने जनाएको छ।