पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज।
मानवीय सेवामा निरन्तर सक्रिय वीरगञ्ज कपडा बैंकले शनिबार वीरगञ्ज महानगरपालिका–२२ स्थित मनियारीको मुसहर टोलमा करिब ६ सय थान नयाँ तथा पुराना कपडा निःशुल्क वितरण गरेको छ।

कपडा बैंकले विगत सात वर्षदेखि “कोही नाङ्गो नरहोस्” भन्ने मूल मन्त्रका साथ आर्थिक अवस्था कमजोर, असहाय तथा विपन्न समुदायलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। बैंकका अनुसार प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म वीरगञ्ज–८ स्थित कार्यालयबाट सेवाग्राहीलाई निःशुल्क कपडा वितरण गरिँदै आएको छ।
बैंकका सल्लाहकार श्रवणबहादुर रायमाझीका अनुसार यसपटक मनियारी मुसहर टोलका विपन्न परिवारलाई लक्षित गर्दै करिब ६ सय थान कपडा वितरण गरिएको हो। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने बताए।

वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता तथा समाजसेवी एवं अधिवक्ता प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले मानवताको संरक्षणका लागि सबैले सेवा र सहयोगको भावना विकास गर्नुपर्नेमा जोड दिए। उनले दिनदुःखी, असहाय तथा विपन्न समुदायको सहयोगमा सबैले आफ्नो क्षमता अनुसार दान र सहयोग गर्न आग्रह गर्दै “सेवा नै सर्वोत्तम धर्म हो” भन्ने भावनालाई व्यवहारमा उतार्नुपर्ने बताए।

कार्यक्रममा बैंकका सल्लाहकार तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझी, सदस्यहरू नीला कुमारी राम, हरेन्द्र पटेल (बाबा), नवराज भट्टराई, कर्मचारी मिथलेश श्रीवास्तव, सञ्चारकर्मी आकाशकुमार पटेल तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा अध्यक्ष लालबाबू सिंहले संस्थालाई स्थापना कालदेखि सहयोग पुर्याउँदै आएका सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सदस्यप्रति हार्दिक आभार व्यक्त गर्दै समाजका सबै वर्गलाई मानवीय सेवाको अभियानमा जोडिन आग्रह गरे। उनले कपडा बैंकले आगामी दिनमा पनि जिल्लाका विभिन्न विपन्न बस्तीमा यस्ता निःशुल्क वितरण कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।