महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

Date:

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा असहायको सेवामा जुट्यो वीरगञ्ज कपडा बैंक
पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज।
बडादशैँ २०८३ को महाअष्टमीको अवसरमा वीरगञ्ज कपडा बैंकले आइतबार विशेष निःशुल्क कपडा तथा खाजा वितरण कार्यक्रम सम्पन्न गरेको छ। ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सामाजिक सेवामा सक्रिय बैंकले वीरगञ्जमा करिब १ हजार ५०० जना विपन्न, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिलाई नयाँ तथा पुराना कपडा र चनाभुजा वितरण गरेको हो।

वीरगञ्जको पानगल्लीस्थित मेनरोड छेउमा रहेको ॐ शिव शक्ति ट्रेड कन्सर्न एण्ड सप्लायर्सको पसल अगाडि आयोजित कार्यक्रममा ठूलो सङ्ख्यामा सेवाग्राहीको सहभागिता रहेको थियो। चाडपर्वको खुसी सबैसँग बाँड्ने, आर्थिक अभावका कारण आवश्यक कपडाबाट वञ्चित हुन नपरोस् भन्ने भावना जागृत गर्ने तथा समाजमा मानवता, सहयोग र सद्भावलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकका सदस्य नवराज भट्टराईले जानकारी दिए।

वीरगञ्ज कपडा बैंकले आफ्नो वीरगञ्ज महानगरपालिका–८ स्थित कार्यालयबाट आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म र शनिबार दिउँसो १ बजेसम्म विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। कार्यालयबाट नियमित सेवा प्रदान गर्नुका साथै बैंकले प्रत्येक महिना घण्टाघर क्षेत्रमा, विभिन्न चाडपर्व तथा मेलामा र आगलागी, बाढीलगायत प्राकृतिक विपत्तिमा परेका परिवारलाई उनीहरूकै घरआँगनमा पुगेर लत्ताकपडा तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।

बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मि प्रमुख अतिथि रहेका थिए। वरिष्ठ दन्त चिकित्सक तथा समाजसेवी डा. मनोज उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी बैंकका सल्लाहकार तथा समाजसेवी प्रकाश उपाध्याय, नागेन्द्र सिंह, अधिवक्ता आशुतोष तिवारी, युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, रुपशिला जैसवाल, माई टिभीका हेड राजेन्द्र सिंह, धनेश गुप्ता, बैंकका सदस्यहरू हरेन्द्र पटेलबाबा, सञ्जय मण्डल, केदार गुप्ता, शिव श्रेष्ठ, शंकर राई, सुरज श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बैंकका कर्मचारी मिथलेश श्रीवास्तवसहित सञ्चारकर्मीहरूको समेत बाक्लो सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता कुर्मिले ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको वीरगञ्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवामा योगदान पुर्‍याउँदै आएको बताए। बैंकले नियमित रूपमा कार्यालयबाट कपडा वितरण गर्नुका साथै चाडपर्व, मेला तथा विभिन्न विपत्तिका समयमा पीडित र असहाय परिवारसम्म पुगेर सहयोग पुर्‍याउनु सराहनीय कार्य भएको उनको भनाइ थियो।

उनले आगामी दिनमा निःशुल्क भोजन सेवा सञ्चालन गर्ने अभियानलाई समेत अगाडि बढाउने योजना रहेको जानकारी दिँदै सामाजिक सेवामा सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिए। आफ्नो आम्दानीको ५ देखि १० प्रतिशतसम्म रकम दिनदुःखी, असहाय तथा विपन्न व्यक्तिको सेवामा खर्च गर्ने बानी विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले बताए।

प्रमुख अतिथि कुर्मिले बडादशैँ, दीपावली तथा छठ पर्वको अवसरमा वीरगञ्जवासी, देश–विदेशमा रहेका नेपाली तथा हिन्दु धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

त्यस अवसरमा बैंकका सल्लाहकार तथा समाजसेवी प्रकाश उपाध्यायले वीरगञ्जदेखि ग्रामीण क्षेत्रसम्म पुगेर पीडित, विपन्न तथा असहाय व्यक्तिलाई नयाँ तथा पुराना कपडा उपलब्ध गराउँदै आएको संस्थासँग हातेमालो गर्न पाउँदा आफूलाई खुसी र गर्व लागेको बताए। समाजमा सेवा र सहयोगको भावना विस्तार गर्न सबै व्यक्ति तथा संस्थाले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने उनको भनाइ थियो। उनले चाडपर्वको अवसरमा सबैमा हार्दिक शुभकामना पनि व्यक्त गरे।

बैंकका अर्का सल्लाहकार तथा समाजसेवी नागेन्द्र सिंहले सबैको साथ, सहयोग र सामूहिक प्रयासकै कारण वीरगञ्ज कपडा बैंक आजको अवस्थासम्म आइपुगेको बताए। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संस्थाले सञ्चालन गर्दै आएका सेवामूलक गतिविधिलाई आगामी दिनमा थप विस्तार गरिने उनले विश्वास व्यक्त गरे।

कार्यक्रमको समापनमा बैंकका अध्यक्ष लालबाबु सिंहले महाअष्टमीको विशेष अवसरमा आयोजित कपडा तथा खाजा वितरण कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक, पदाधिकारी, सदस्य, सहभागी तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरे।

मानवीय सेवा, सामाजिक सद्भाव र परोपकारलाई आफ्नो मूल उद्देश्य बनाएको वीरगञ्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर रूपमा विपन्न तथा असहाय व्यक्तिको जीवनमा सहयोग पुर्‍याउँदै आएको छ। चाडपर्वको खुसी आर्थिक रूपमा कमजोर वर्गसम्म पुर्‍याउने यस्ता अभियानले समाजमा आपसी सहयोग, करुणा र मानवताको भावना थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...