पर्सा पोस्ट, भदौ २२ गते, वीरगञ्ज ।
यहि भाद्र १० गते रसु्वा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वीरगञ्जको माइस्थानमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ।
नेवा: दे: दबू वीरगञ्ज महानगर कमिटीको आयोजनामा भएको दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै विपद्का कारण पीडामा रहेका परिवारजनलाई दुःख सहन सक्ने शक्ति प्रदान होस् भन्ने कामना गरेका थिए। सहभागीहरूले प्राकृतिक विपद्मा ज्यान गुमाएका सबै नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारको दुःखमा आफूहरू समेत साथमा रहेको सन्देश दिएका थिए।
नेवा: दबु वीरगञ्ज महानगरका अध्यक्ष सत्यम खड्काको नेतृत्वमा सम्पन्न कार्यक्रममा माइस्थान परिसरमा दीप प्रज्वलन गरी मृतकहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो। अध्यक्ष खड्काले विपद्मा आफ्ना आफन्त गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै यस्तो दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति श्री गहवामाईले प्रदान गरून् भनी प्रार्थना गरेका थिए।
भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि देशभर विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट श्रद्धाञ्जली, राहत तथा सहयोगका कार्यक्रमहरू भइरहेका छन्। वीरगञ्जमा आयोजित दीप प्रज्वलन कार्यक्रमले विपद्का बेला पीडित परिवारप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको सन्देश दिएको छ।
दिवंगत सम्पूर्ण आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।