पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज ।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा जेन–जी पर्साले वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी जेन–जी सहिद दिवस मनाएको छ।
कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले सहिदहरूको योगदानको स्मरण गर्दै आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जेन–जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीले जेन–जी आन्दोलनका क्रममा युवामाथि गोली चलाउने तथा कार्की आयोगको छानबिन प्रतिवेदनमा दोषी देखिएका व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने माग गर्नुभयो।
उहाँले भ्रष्टाचार, कमिसनखोरी, बेथिति र अन्यायविरुद्ध आवाज उठाउने तथा सामाजिक न्याय, सुशासन र सकारात्मक परिवर्तनको पक्षमा उभिने सबै युवा जेन–जी भएको बताउनुभयो।
“देशको विकास र समृद्धिका लागि युवाहरू विभाजित नभई एकजुट भएर अघि बढ्नुपर्छ,” संयोजक कुर्मीले जोड दिँदै भन्नुभयो।
त्यस्तै, कार्यक्रममा बोल्दै जेन–जी अभियन्ता चन्दन महतोले पनि आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले युवाहरू परिवर्तन र सुशासनको पक्षमा एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट आएका जेन–जी युवाहरू, आन्दोलनका अगुवा, अभियन्ता तथा आन्दोलनकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
दीप प्रज्वलनका क्रममा सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, आन्दोलनका क्रममा भएका घटनामा दोषी देखिएका व्यक्तिमाथि कानुनी कारबाही र आन्दोलनका मागहरू सम्बोधन गर्नुपर्ने आवाजसमेत उठाएका थिए।
जेन–जी पर्साले युवाको बलिदान र आन्दोलनको उद्देश्यलाई स्मरण गर्दै सुशासन, सामाजिक न्याय, भ्रष्टाचारमुक्त शासन व्यवस्था र सकारात्मक परिवर्तनका लागि युवाहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ।