प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

Date:

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज ।
प्याब्सन वीरगञ्जको आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमी प्रथम स्थान हासिल गरी उपाधि जित्न सफल भएको छ।

वीरगञ्जस्थित डिएभी स्कुलमा मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा उपाधिका लागि पाँच विद्यालयबीच कडा प्रतिस्पर्धा भएको थियो। फाइनल चरणमा गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, मास्कट एकेडेमी, साउथ जोन सेकेन्डरी स्कुल, रोयल एकेडेमी र ज्ञानज्योति माध्यमिक विद्यालय सहभागी भएका थिए।

प्रतियोगितामा रोयल एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै १७० अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो। त्यस्तै, साउथ जोन सेकेन्डरी स्कुल र ज्ञानज्योति माध्यमिक विद्यालयले समान १६५ अंक प्राप्त गरेपछि दोस्रो र तेस्रो स्थान निर्धारण गर्न टाइब्रेकरको सहारा लिनुपरेको थियो। टाइब्रेकरमा ज्ञानज्योति माध्यमिक विद्यालय दोस्रो तथा साउथ जोन सेकेन्डरी स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

त्यसैगरी, गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र मास्कट एकेडेमीले पनि प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै फाइनल चरणमा आफ्नो उपस्थिति जनाएका थिए।

प्रतियोगितामा वीरगञ्ज प्याब्सनसँग आबद्ध ३१ वटा विद्यालय सहभागी भएका थिए। विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रदर्शन गरेका पाँच विद्यालय सिनियरतर्फको फाइनल प्रतियोगितामा प्रवेश गरेका हुन्।

प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगञ्जका सचिव अमित आलोकका अनुसार विद्यार्थीहरूको ज्ञान, तर्कशक्ति, सामान्य जानकारी तथा बौद्धिक क्षमताको विकास गर्नुका साथै उनीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले ‘प्याब्सन स्मार्ट माइन्ड्स’ प्रतियोगिताको आयोजना गरिएको हो।

फाइनल प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गरेका थिए। दुवै अध्यक्षले माता सरस्वतीको तस्वीरमा माल्यार्पण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साह रहेका थिए। कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए भने स्वागत मन्तव्य प्याब्सन पर्साकी महिला वरिष्ठ उपाध्यक्ष सुशिला साहले गरेकी थिइन्।

कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेश प्रदेशका सल्लाहकार इमामुदिन अहमद, प्याब्सन वीरगञ्जका नगर सदस्यहरू विजय बल र सुमित कलवार, प्याब्सनका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, डिएभी स्कुलका राकेश मिश्रा, धनुषा प्याब्सनका अध्यक्ष नवलकिशोर साह, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिनलगायतको उपस्थिति रहेको थियो।

यसैबीच, कार्यक्रममा प्याब्सन पर्साले विपद्पीडितप्रति ऐक्यबद्धता जनाउँदै बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ। प्याब्सन पर्साले विभिन्न माध्यमबाट संकलन गरेको उक्त रकमको १५ लाख रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।

विपद्का कारण प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्याब्सन पर्साले जनाएको छ। शैक्षिक संस्थाले केवल शिक्षण–सिकाइमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नुपर्ने सन्देशस्वरूप सहयोग रकम प्रदान गरिएको सहभागीहरूले बताएका थिए।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र, मेडल तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ ले विद्यार्थीहरूको बौद्धिक तथा तार्किक क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबीच आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २२ गते, वीरगञ्ज । रसुवा जिल्लामा हालै...