पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज ।
श्री भगवती युवा क्लबले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा वीरगञ्जस्थित शंखधर साख्वा पार्कमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र बेरोजगारी विरुद्ध स्वस्फूर्त रूपमा उठेको जेनजी पुस्ताको आन्दोलनमा तत्कालीन राज्यसत्ताबाट युवाहरूमाथि भएको निर्मम दमनको भर्त्सना गर्नुभयो। उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण जेनजी शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शहीद परिवारप्रति समवेदना व्यक्त गर्नुभयो।

उपाध्यायले युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै विश्व इतिहासमा भएका ठूला–ठूला परिवर्तनमा युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। नेपाली युवाहरूले पनि यसपटकको ऐतिहासिक आन्दोलनमा आफ्नो ज्यानको आहुति दिएको उहाँको भनाइ थियो।
लामो समयदेखि सत्ता र शक्तिको आडमा राज्यको ढुकुटी दोहन गर्ने प्रवृत्तिविरुद्ध आम नागरिकले प्रभावकारी आवाज उठाउन नसकिरहेको अवस्थामा जेनजी युवाहरूले जनताको आवाज बनेर आन्दोलन गरेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “आम नेपाली जनताको आवाज बनेर आफ्नो प्राण आहुति दिने सम्पूर्ण जेनजी युवा शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शहीद परिवारप्रति गहिरो समवेदना छ।”
उपाध्यायले युवाहरूको चाहना र युवा मनको ढुकढुकीलाई वर्तमान सरकारले बुझ्नुपर्नेमा जोड दिँदै बालेन साह नेतृत्वको सरकारले युवाहरूको भरोसा र विश्वास टुट्न नदिन आग्रह गर्नुभयो। युवाहरूको अपेक्षा र भावनाअनुसार सरकार अघि बढ्नु नै जेनजी शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाइ थियो।
कार्यक्रम श्री भगवती युवा क्लबका अध्यक्ष ऐजाज अख्तरको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लबका सचिव दीपेश सिंहले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा एमएमएस स्कुलका सञ्चालक इमामुद्दीन अहमद, शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनाल, क्लबका पूर्वअध्यक्ष सुमित पटेल, क्लबलाई संरक्षण तथा सहयोग गर्दै आएका विशिष्ट सदस्य सार्दुल भट्टराई, वरिष्ठ उपाध्यक्ष तथा जेनजी आन्दोलन वीरगञ्जका अगुवा जेनजी नेता सुभाष सिंह, उपाध्यक्ष अनमोल खान, उपाध्यक्ष कौशल्या श्रेष्ठ, कोषाध्यक्ष विराट सिंह, सह–सचिव विजय श्रीवास्तव लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी क्लबका सदस्यहरू अमन पटेल, सुधीर राउत, सम्राट सिंह, लव गोसाई, कुशु गोसाई, साजन खान, सन्तोष थापा, इमरान खान, शेखरबहादुर सिंह, समी मियाँ, आकाश खड्की, आदित्य बानियाँ, सुजित कुमार, अमन भट्टराईसहित उल्लेख्य संख्यामा युवाहरूको उपस्थिति रहेको थियो।
दीप प्रज्वलनमार्फत सहभागीहरूले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको योगदानको स्मरण गर्दै उनीहरूले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी तथा जवाफदेहिताका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शहीदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै मौनधारणसमेत गरिएको थियो।