पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज ।
प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको फाइनल चरणमा पाँच विद्यालय प्रवेश गरेका छन्।
प्रतियोगिताअन्तर्गत सम्पन्न क्वालिफिकेशन राउन्डमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, मास्कट एकेडेमी, साउथ जोन सेकेन्डरी स्कुल, रोयल एकेडेमी र ज्ञानज्योति माध्यमिक विद्यालय फाइनलमा स्थान बनाउन सफल भएका हुन्।
क्वालिफिकेशन राउन्डबाट ग्रुप ‘ए’ बाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, ग्रुप ‘बी’ बाट मास्कट एकेडेमी, ग्रुप ‘सी’ बाट साउथ जोन सेकेन्डरी स्कुल, ग्रुप ‘डी’ बाट रोयल एकेडेमी र ग्रुप ‘ई’ बाट ज्ञानज्योति माध्यमिक विद्यालय फाइनलमा छनोट भएका हुन्।

प्रतियोगिताको क्वालिफिकेशन राउन्डमा पाँच समूहमा विभाजन गरी कुल ३१ विद्यालय सहभागी भएका थिए। ग्रुप ‘बी’ मा सात तथा अन्य चार समूहमा छ–छ विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। ती विद्यालयलाई पछि पार्दै पाँच टोलीले फाइनलको यात्रा तय गरेका हुन्।
सिनियरतर्फको उपाधिका लागि हुने फाइनल भिडन्त भदौ २३ गते बिहान १० बजे डिएभी स्कुलमा आयोजना हुने प्रतियोगिता संयोजक तथा प्याब्सन वीरगन्जका सचिव अमित आलोकले जानकारी दिए।
विद्यार्थीको ज्ञान, तर्कशक्ति, स्मरण क्षमता तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यालय तहमा प्रतिस्पर्धात्मक तथा बौद्धिक गतिविधिलाई प्रोत्साहन गर्ने आयोजकले जनाएको छ।
यसअघि वीरगन्ज–ज्योतिनगरस्थित लिटल एन्जल्स स्कूलमा आयोजित क्वालिफिकेशन राउन्डको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए।
दुवै अध्यक्षले गमलामा पानी हालेर प्रतियोगिताको क्वालिफिकेशन राउन्डको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए।
उद्घाटन कार्यक्रममा प्याब्सन वीरगन्जका नगर सदस्य विजय बल, सुमित कलवार, प्याब्सन वीरगन्जका प्रेस कोर्डिनेटर दीपु बर्नवाल, लिटल एन्जल्स स्कूलका प्रधानाध्यापक सन्नी पाख्रिन, विद्या सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लाल बहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।
अब भदौ २३ गते हुने फाइनलमा पाँच विद्यालयबीच हुने बौद्धिक प्रतिस्पर्धाले ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको विजेता तय गर्नेछ।

