पर्सा पोस्ट, भदौ १९ गते, वीरगञ्ज ।
नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।
वीरगञ्जस्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाँको योगदानको स्मरण गर्दै मानवीय सेवा, परोपकार तथा स्वयंसेवाको भावनालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
स्थापना दिवसका अवसरमा झण्डोत्तोलन, दीप प्रज्वलन तथा संस्थापक ड्युनाँको तस्बिरमा माल्यार्पण र अबिर अर्पण गरिएको थियो। कार्यक्रममा सहभागी रेडक्रसकर्मी तथा पदाधिकारीहरूले ड्युनाँले मानवीय सेवाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा कार्यकारिणी सदस्यहरू दिनानाथ रौनियार, रेशमकोठी उपशाखाका अभिलाष गुप्ता, हरिन्द्र प्रसाद, काशी प्रसाद, जयनारायण चौधरी, रामाकान्त पटेल, पूर्णबासी राउत, मिन्टु सिंह, प्रदीप गुप्ता, लक्ष्मीनारायण राउत, मिना क्षेत्री तथा कार्यालय प्रमुख वीरसमसेर कुर्मीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले विपद्, स्वास्थ्य संकट तथा विभिन्न मानवीय कठिनाइका समयमा रेडक्रसले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गरेका थिए। उनीहरूले स्थानीयस्तरमा मानवीय सहायता, उद्धार, राहत तथा स्वास्थ्य सेवाका कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए।
नेपाल रेडक्रस सोसाइटी मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, एकता र विश्वव्यापीताजस्ता सात आधारभूत सिद्धान्तमा आधारित रही मानवीय सेवामा क्रियाशील संस्था हो। विपद्का समयमा उद्धार तथा राहत, रक्तसञ्चार सेवा, स्वास्थ्य सेवा, प्राथमिक उपचार, समुदायमा आधारित विपद् व्यवस्थापनलगायतका क्षेत्रमा रेडक्रसले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
पर्सा शाखाले पनि जिल्लामा विपद् व्यवस्थापन, रक्तसञ्चार, स्वास्थ्य सेवा, उद्धार तथा राहतलगायतका क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको कार्यक्रममा उल्लेख गरिएको थियो।
कार्यक्रममा रेडक्रसकर्मी तथा पदाधिकारीहरूले आगामी दिनमा विपद् तथा संकटमा परेका नागरिकलाई तत्काल सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै मानवीय सेवाका गतिविधिलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थापना दिवसले रेडक्रसको मूल आदर्श ‘मानवताको सेवा’ लाई स्मरण गराउँदै समाजमा स्वयंसेवा, सहयोग र परोपकारको भावना विकास गर्न थप प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरिएको थियो।