पर्सा पोस्ट, भदौ २० गते, वीरगञ्ज ।
विपद्को कठिन समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्दै वीरगञ्जस्थित नवदीप एकेडेमीले बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।
बाढीपीडितको पीडामा साथ दिने उद्देश्यले विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन पक्षको सामूहिक सहभागितामा उक्त रकम संकलन गरिएको हो। विद्यालयका अनुसार संकलित रकममध्ये विद्यार्थीहरूबाट १५ हजार रुपैयाँ तथा शिक्षक र व्यवस्थापन पक्षबाट ३५ हजार रुपैयाँ गरी कुल ५० हजार रुपैयाँ जुटाइएको हो।
विद्यालयले संकलन गरेको सहयोग रकम प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीलाई हस्तान्तरण गरेको छ। अध्यक्ष चौधरीमार्फत उक्त रकम बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा प्रयोग गरिने जनाइएको छ।
रकम हस्तान्तरण कार्यक्रममा विद्यालयकी डाइरेक्टर तथा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साहले विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवार एकजुट भएर सहयोग रकम संकलन गरेको बताइन्।
उनले विपद्को समयमा पीडितहरूको पीडामा साथ दिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै विद्यालयले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताइन्। मानवीय सेवाका यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरिन्।
विद्यालयका विद्यार्थीबाट समेत सहयोग संकलन गरिनुले विपद्का बेला बालबालिकामा समेत सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने सन्देश दिएको विद्यालयको भनाइ छ। सानै उमेरदेखि समाजमा आइपर्ने विपद् तथा संकटमा सहयोग गर्नुपर्छ भन्ने संस्कार विकास गराउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
विद्यालयले विपद्का कारण घरबार, खाद्यान्न तथा दैनिक आवश्यकताका सामग्रीबाट प्रभावित नागरिकलाई तत्काल राहतको आवश्यकता रहेको भन्दै समाजका सबै क्षेत्रलाई आ–आफ्नो क्षमताअनुसार सहयोगका लागि अघि बढ्न आह्वान गरेको छ।
विपद्को कठिन घडीमा नवदीप एकेडेमी परिवारले गरेको यो सहयोगले राहतका लागि आर्थिक योगदानसँगै मानवीय एकता, सामाजिक जिम्मेवारी र सामुदायिक सहकार्यको सकारात्मक सन्देश दिएको छ।
विद्यालय परिवारले ‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो’ भन्ने भावनाका साथ विपद्मा परेका नागरिकको सहयोगमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गरेको छ।