वीरगन्जमा घर निर्माण मेला सुरु, आधुनिक प्रविधि र निर्माण सामग्रीबारे एउटै थलोमा जानकारी

Date:

पर्सा पोस्ट, भदौ १९ गते, वीरगन्ज ।
घर निर्माणसम्बन्धी सामग्री, आधुनिक प्रविधि, डिजाइन तथा सेवाबारे सर्वसाधारणलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले वीरगन्जमा ‘घर निर्माण मेला’ सुरु भएको छ।
‘Building Dreams, Creating Opportunities, Connecting Innovation’ भन्ने नारासहित ई होम सोलुसनको आयोजनामा वीरगन्जस्थित चिल्ड्रेन पार्कमा बिहीबारदेखि मेला सुरु भएको हो।

मेलाको उद्घाटन मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पटेलले घर निर्माण केवल भौतिक संरचना निर्माण गर्ने विषय नभई सुरक्षित, व्यवस्थित र आधुनिक जीवनशैलीसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए। निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, आधुनिक निर्माण सामग्री तथा नवीन अवधारणाबारे सर्वसाधारणलाई प्रत्यक्ष जानकारी गराउने यस्ता मेलाले उपभोक्ता र व्यवसायीबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने उनले बताए।

उनले स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्री तथा प्रविधिको प्रवद्र्धनसँगै निजी क्षेत्रको लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। घर निर्माणको तयारीमा रहेका सर्वसाधारणले एउटै स्थानमा विभिन्न कम्पनीका उत्पादन, प्रविधि र सेवाबारे जानकारी तथा तुलनात्मक अध्ययन गर्न पाउने भएकाले मेला उपयोगी हुने उनको भनाइ थियो।

मेलामा घर निर्माणसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूले निर्माण सामग्री, आधुनिक प्रविधि, वास्तु तथा डिजाइन, इन्टेरियर, घर निर्माण समाधान र नवीन उत्पादनहरू प्रदर्शनमा राखेका छन्।

मेलामा सहभागी सर्वसाधारणले निर्माण सामग्रीको गुणस्तर, प्रयोग विधि, मूल्य तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्ने आयोजकले जनाएको छ। साथै, घर निर्माणका क्रममा आवश्यक पर्ने विभिन्न सेवा तथा समाधानबारे सम्बन्धित विज्ञ तथा व्यवसायीसँग प्रत्यक्ष परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ।

आयोजकका अनुसार मेला उपभोक्तालाई नयाँ प्रविधि र उत्पादनसँग परिचित गराउने मात्र नभई निर्माण व्यवसायी, इन्जिनियर, डिजाइनर, निर्माण सामग्री उत्पादक तथा सेवाप्रदायकबीच व्यावसायिक सम्पर्क विस्तार गर्ने महत्वपूर्ण माध्यम समेत बन्नेछ।

निर्माण क्षेत्रमा नयाँ प्रविधि र नवप्रवर्तनलाई जोड्दै उपभोक्तालाई सहज, गुणस्तरीय र आधुनिक विकल्प उपलब्ध गराउनु मेलाको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।
उद्घाटन कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सराफ, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, देवेश मानव सेवा लगायत विभिन्न कम्पनीका पदाधिकारी, युवा समाजसेवी तथा स्थानीयको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार मेला बिहीबारदेखि शनिबारसम्म चिल्ड्रेन पार्क, वीरगन्जमा सञ्चालन हुनेछ। मेलामा सर्वसाधारणले घर निर्माणसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिनुका साथै सम्बन्धित व्यवसायी, इन्जिनियर तथा विशेषज्ञसँग प्रत्यक्ष छलफल गर्न सक्नेछन्।
घर निर्माणको योजना बनाइरहेका उपभोक्तादेखि निर्माण क्षेत्रमा आबद्ध व्यवसायी तथा प्राविधिकका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको मेलाले वीरगन्जमा आधुनिक तथा प्रविधिमैत्री निर्माण संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...