पर्सा पोस्ट, भदौ २० गते, वीरगञ्ज ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउनुका साथै आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले आदर्श टोल सुधार समाज, वीरगञ्ज–१६ पर्साले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा २ महिलासहित २७ जनाले रक्तदान गरेका छन्।

आदर्श टोल सुधार समाज वीरगञ्जका अध्यक्ष प्रकाश सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१६ का वडा अध्यक्ष प्रसुराम चौरसिया प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका लालबाबु सिंह, समाजसेवी अभिलाष गुप्ता, राजेन्द्र भट्टराई, नवराज भट्टराईलगायतको उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा श्यामसुन्दर गुप्ता, अनिलकुमार रौनियार, रुस्तम अली, बलिराम यादव, रोशन सर्राफ, महेशकुमार मण्डल, अरुण यादव, कौशल पटेल, सत्यमकुमार सहानी, रविप्रसाद साह, राजु पण्डित र उपेन्द्र जयसवाललगायत रहेका थिए।
कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा आएको टोलीले रक्त संकलन तथा आवश्यक प्राविधिक सहयोग प्रदान गरेको थियो।
कार्यक्रम आयोजकका अनुसार प्राकृतिक विपद्का बेला बाढीपीडित तथा प्रभावित परिवारलाई सहयोग गर्नुका साथै दुर्घटना, उपचार तथा अन्य आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
समाजले स्थानीयस्तरमा सामाजिक संस्था, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय नागरिकको सहकार्यमा मानवीय सेवाका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
आयोजकहरूले विपद्को समयमा राहत सामग्री सहयोगसँगै रक्तदानजस्तो जीवन बचाउने मानवीय सेवामा समेत समुदायको सहभागिता आवश्यक रहेको बताएका छन्।