पर्सा पोस्ट, भदौ १८ गते, वीरगञ्ज ।
श्रीकृष्ण जन्माष्टमी २०८३ को अवसरमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति (रथयात्रा समिति), वीरगञ्जले धार्मिक तथा सांस्कृतिक पर्वलाई बालबालिकामाझ उत्साहपूर्ण रूपमा मनाउँदै विभिन्न विद्यालयका राधा–कृष्ण बनेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

समितिले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका १५ वटा विद्यालयमा पुगेर राधा तथा कृष्णको रूप धारण गरेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको हो। जन्माष्टमीका अवसरमा विद्यालयमा आयोजित विविध कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको समितिले जनाएको छ।
धार्मिक तथा सांस्कृतिक पर्वलाई केवल पूजा–आराधनामा सीमित नराखी बालबालिकाको सिर्जनात्मक सहभागिता र शिक्षासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका सचिव पप्पु गुप्ताले जानकारी दिए।

उनका अनुसार विद्यालयमा पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै राधा–कृष्णको रूप धारण गरी कार्यक्रममा सहभागी भएका बालबालिकाको उत्साह बढाउने काम गरिएको थियो। बालबालिकाको सहभागिताले जन्माष्टमीजस्ता धार्मिक तथा सांस्कृतिक पर्वप्रति नयाँ पुस्ताको रुचि बढाउन सहयोग पुग्ने उनको भनाइ छ।
कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरूले विद्यालय पुगेर विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेका थिए।
बालबालिकालाई अध्ययनप्रति उत्प्रेरित गर्नुका साथै स्थानीय धार्मिक, सांस्कृतिक तथा मौलिक परम्परासँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समितिले जनाएको छ।
कार्यक्रम श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष देवानन्द कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा समितिका सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल, विजय सर्राफ, सदस्य श्याम गुप्ता, प्रभु साह, मुन्ना साह, दिपु गुप्ता, मुना सर्राफलगायतको सहभागिता रहेको थियो।
वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको गहवा माई रथयात्राको संरक्षण तथा प्रवद्र्धनसँगै समितिले सामाजिक र शैक्षिक क्षेत्रमा समेत विभिन्न गतिविधि गर्दै आएको जनाएको छ।
जन्माष्टमीका अवसरमा गरिएको यस प्रकारको पहलले बालबालिकालाई धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी गराउनुका साथै उनीहरूमा अध्ययनप्रतिको उत्साह बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नयाँ पुस्तालाई स्थानीय कला, संस्कृति, धार्मिक आस्था र परम्परासँग जोड्दै यसको संरक्षण तथा पुस्तान्तरणमा समेत योगदान पुग्ने विश्वास समितिले व्यक्त गरेको छ।