पर्सा पोस्ट, भदौ १८ गते, काठमाडौं ।
स्वास्थ्य सेवा क्षेत्रमा व्यावसायिक दक्षतासँगै मानवीय संवेदना, सकारात्मक सोच र टिमवर्कको संस्कार विकास गर्ने उद्देश्यले ललितपुरस्थित मेडिसिटी वयोधा अस्पतालमा विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ।

ज्ञानदा एकेडेमी (GYANDA Academy) का सीईओ एवं प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाद्वारा सञ्चालित उक्त विशेष सत्रमा अस्पतालका वरिष्ठ चिकित्सक, प्रशासनिक अधिकारी तथा नर्सिङ स्टाफसहित ३५ जनाभन्दा बढीको सहभागिता रहेको थियो। अस्पतालका उपाध्यक्ष विजय रिमालको समन्वय तथा नेतृत्वमा आयोजित कार्यक्रम करिब दुई घण्टासम्म सञ्चालन भएको थियो।

कार्यक्रममा कोइरालाले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक टिमवर्क, आपसी समन्वय, सकारात्मक सोच र मानसिक अवरोध व्यवस्थापनका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए।
सत्रको पहिलो चरण ‘One Team, One Pulse: Elevating Admin and Nursing Synergy’ अर्थात् ‘एक टोली, एक ढुकढुकी : प्रशासन र नर्सिङबीचको समन्वय’ विषयमा केन्द्रित थियो। यस क्रममा अस्पतालको प्रशासनिक तथा नर्सिङ टिमबीच प्रभावकारी सञ्चार, सहकार्य, जिम्मेवारीको स्पष्टता र साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने आवश्यकतामाथि प्रशिक्षण दिइएको थियो।

त्यसैगरी दोस्रो चरणमा ‘The Five Devils of Psychological Sabotage’ अर्थात् ‘मानसिक अवरोधका पाँच शत्रु’ विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो। कार्यस्थलमा व्यक्तिको क्षमता, आत्मविश्वास र कार्यसम्पादनमा असर पार्ने नकारात्मक सोच तथा मानसिक अवरोधलाई पहिचान गरी त्यसलाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्ने उपायबारे कोइरालाले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कोइरालाको प्रस्तुतीकरण, प्रशिक्षण शैली र विषयवस्तुलाई निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले “यो सत्र केवल एउटा तालिम मात्र थिएन, एक किसिमको चमत्कार (Miracle) जस्तै अनुभव भयो” भन्दै दुई घण्टाको छोटो अवधिमै कर्मचारीहरूमा देखिएको उत्साह, सकारात्मक सोच र ऊर्जा परिवर्तन उल्लेखनीय रहेको बताएका छन्।

सहभागीहरूका अनुसार प्रशिक्षणले दैनिक कार्यसम्पादनसँगै व्यक्तिगत सोच, व्यवहार र सहकर्मीबीचको सम्बन्धलाई समेत सकारात्मक रूपमा हेर्न प्रेरित गरेको छ। विशेषगरी स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीका लागि मानसिक रूपमा सशक्त, भावनात्मक रूपमा संवेदनशील र टोलीका रूपमा एकताबद्ध भएर काम गर्नुपर्ने सन्देश कार्यक्रमको महत्वपूर्ण उपलब्धि बनेको उनीहरूको भनाइ छ।
कार्यक्रमले अस्पतालभित्र ‘एकता नै शक्ति हो’ भन्ने भावनालाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।
अस्पतालमा चिकित्सक, नर्सिङ तथा प्रशासनिक जनशक्तिबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउँदै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण निर्माण गर्न कार्यक्रमले योगदान पुर्याउने विश्वास गरिएको छ।
ज्ञानदा एकेडेमी र मेडिसिटी वयोधा अस्पतालबीच भएको यो सहकार्यलाई संस्थागत क्षमता विकास र मानव संसाधनको दक्षता अभिवृद्धितर्फको महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ। आगामी दिनमा पनि यस्ता सिर्जनशील, व्यावसायिक तथा उत्प्रेरणात्मक कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य सेवाको गुणस्तरलाई थप उचाइमा पुर्याउने लक्ष्य दुवै संस्थाले राखेका छन्।

दुई घण्टाको प्रशिक्षणले कर्मचारीमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ उत्साह जगाएको भन्दै सहभागीबाट आएको ‘मिराकल’को प्रतिक्रियाले कार्यक्रमको प्रभावकारितालाई थप चर्चामा ल्याएको छ।