पर्सा पोस्ट, भदौ १७ गते, वीरगञ्ज, पर्सा ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उत्पन्न राष्ट्रिय संकट तथा प्राकृतिक विपद्बाट राष्ट्रलाई शीघ्र मुक्ति मिलोस् भन्ने कामनासहित वीरगञ्जमा विशेष रुद्राभिषेक तथा पूजा–अर्चना गरिएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा नेपाल सरकारलाई सफलता मिलोस् भन्ने प्रार्थनासहित कर्मकाण्डी ब्राह्मण समाजले वीरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा सामूहिक रुद्राभिषेक गरेको हो।

बुधबार आयोजित धार्मिक अनुष्ठानमा विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्ति एवं वैकुण्ठवासको कामना गरिएको थियो। साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारलाई दुःख सहन सक्ने शक्ति र धैर्य प्राप्त होस् भन्दै विशेष प्रार्थना गरिएको थियो।
रुद्राभिषेकमा श्री पशुपतिनाथ मन्दिरका मूल पुजारीहरूसहित कर्मकाण्डी ब्राह्मण समाजका अध्यक्ष उत्तम उपाध्याय, गुरु लक्ष्मी प्रपन्नाचार्य, सचिव बलराम सुवेदी, पुरुषोत्तम उपाध्याय, गोपी गुरूलगायत १८ जना गुरु–ब्राह्मणको सहभागिता रहेको थियो। उनीहरूले वैदिक विधि र परम्पराअनुसार सामूहिक रूपमा रुद्राभिषेक तथा पूजा–अर्चना गरेका थिए।
धार्मिक अनुष्ठानमा वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय र मुना भट्टराई मुख्य यजमानका रूपमा सहभागी हुनुभएको थियो।
पूजाका क्रममा विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संकटको समयमा मानवीय सहयोग र सामाजिक सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने सन्देशसमेत दिइएको थियो। प्राकृतिक विपद् कुनै एक क्षेत्र वा समुदायको मात्र समस्या नभई समग्र राष्ट्रकै साझा चुनौती भएकाले उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सबै पक्षले आफ्नो तर्फबाट सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो।

कर्मकाण्डी ब्राह्मण समाजका अनुसार रुद्राभिषेक केवल धार्मिक अनुष्ठानमा सीमित नभई विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली, घाइते तथा प्रभावित परिवारप्रति सहानुभूति र राष्ट्रप्रतिको सामूहिक प्रार्थनाको अभिव्यक्ति हो।
विपद्को कठिन घडीमा वीरगञ्जबाट गरिएको यस धार्मिक अनुष्ठानले प्राकृतिक विपद्मा परेका नागरिकप्रति सहानुभूति, मानवीय संवेदना र राष्ट्रिय एकताको भावना थप सुदृढ गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

राष्ट्रमा आइपरेका विपद् तथा अनिष्ट अन्त्य भई जनजीवन सामान्य बनोस्, प्रभावित परिवारले राहत र पुनःस्थापनाको अनुभूति गर्न सकून् तथा आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न राज्यका प्रयास सफल होऊन् भन्ने कामनासहित रुद्राभिषेक सम्पन्न गरिएको थियो।
