पर्सा पोस्ट, भदौ १४ गते, वीरगञ्ज ।
वीरगञ्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर रुङ्टाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
रुङ्टा ग्रुपअन्तर्गत सञ्चालित विभिन्न उद्योग तथा प्रतिष्ठानबाट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको हो।
यसअघि शनिबार हरिखेतान बहुमुखी कलेजमा आयोजित कार्यक्रममा कलेज व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका सुरेशकुमार रुङ्टाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहतका लागि ३० देखि ४० लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका थिए। तर, घोषणाको भोलिपल्टै रुङ्टा ग्रुपले प्रतिबद्धता जनाइएको रकमभन्दा करिब ६ गुणा बढी अर्थात् २ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
रुङ्टा ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले कोषका लागि २ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। विपद्को कठिन परिस्थितिमा निजी क्षेत्रबाट गरिएको यो सहयोगलाई मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको महत्वपूर्ण योगदानका रूपमा लिइएको छ।
देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको रुङ्टा ग्रुपले जनाएको छ।
ग्रुपले उद्योग तथा व्यवसाय सञ्चालनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ। विपद्का समयमा राहत तथा उद्धार, स्वास्थ्य, शिक्षा र अन्य सामाजिक सेवाका क्षेत्रमा ग्रुपले विभिन्न सहयोग गर्दै आएको छ।
रुङ्टा ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् प्रभावित तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि गरिएको २ करोड १ लाख रुपैयाँको सहयोगले तत्कालीन राहतसँगै उद्धार तथा पुनःस्थापनाका कार्यमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रबाट गरिएको यो सहयोग विपद्को समयमा उद्योग–व्यवसाय क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरणका रूपमा देखिएको छ।