पर्सा पोस्ट , भदौ १४ गते , बिरगंज
मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ वीरगञ्जमा सम्पन्न गरेको छ।
वीरगञ्जस्थित क्लासिक होटलमा आयोजित वार्षिकोत्सव समारोहको उद्घाटन पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।
पत्रिकाकी सम्पादक कविता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौत्तम, संघका पूर्वअध्यक्ष सुबोध गुप्ता, मधेश प्रदेश मिडिया काउन्सिलकी बन्दना झा, डा. लक्ष्मी थापालगायत सञ्चार, उद्योग–व्यवसाय तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले मध्य नेपाल सन्देश साप्ताहिकले स्थापनादेखि नै स्थानीय तथा राष्ट्रिय सरोकारका विषयलाई प्राथमिकतामा राख्दै नागरिकका आवाजलाई सञ्चारमाध्यममार्फत उठान गर्दै आएको बताएका थिए।
स्थानीयस्तरका समस्या, सामाजिक सरोकार, विकास निर्माण, सुशासन तथा समसामयिक विषयलाई निरन्तर प्राथमिकताका साथ प्रकाशन गर्दै पत्रिकाले स्थानीय पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उनीहरूको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि सांसद हरि पन्तले सञ्चारमाध्यम लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नागरिकका समस्या, गुनासा र आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले पत्रकारितामा सत्य, तथ्य र निष्पक्षतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै समाजलाई सही सूचना प्रदान गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी भएको धारणा व्यक्त गरे।
त्यस्तै, कार्यक्रममा सहभागी वक्ताहरूले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रमा अवसरसँगै चुनौतीसमेत थपिँदै गएको बताए। सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको बढ्दो प्रयोगका कारण सूचनाको प्रवाह तीव्र भए पनि गलत सूचना र अपुष्ट समाचारको जोखिम बढेको भन्दै पत्रकारिता क्षेत्रले आफ्नो विश्वसनीयता जोगाउन तथ्यमा आधारित, जिम्मेवार र मर्यादित पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए।
मध्य नेपाल सन्देश साप्ताहिकले ११ वर्षको यात्राका क्रममा विभिन्न चुनौती र उतारचढावका बीच निरन्तर प्रकाशन हुँदै आएको जनाएको छ। आगामी दिनमा पनि नागरिकका वास्तविक समस्या, जनसरोकारका विषय तथा समाजमा सकारात्मक प्रभाव पार्ने मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता पत्रिकाले जनाएको छ।
वार्षिकोत्सवका अवसरमा पत्रिकाको स्थापनादेखि हालसम्मको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने पाठक, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार, लेखक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूप्रति आभार व्यक्त गरिएको थियो।
समारोहमा सहभागी अतिथिहरूले मध्य नेपाल सन्देश साप्ताहिकको आगामी यात्रा अझ प्रभावकारी, विश्वसनीय र सफल बन्ने शुभकामना व्यक्त गरे। उनीहरूले स्थानीय पत्रकारितालाई थप सशक्त बनाउँदै नागरिकका वास्तविक समस्या, विकास निर्माणका सवाल र सार्वजनिक सरोकारका विषयलाई निरन्तर प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
११औँ वार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, शुभेच्छुक तथा पाठकहरूको उल्लेख्य सहभागिता रहेको थियो।