वीरगञ्जमा संयुक्त बजार अनुगमन तीव्र, दिब्य इम्पेक्सलाई रु.५० हजार जरिवाना , खाद्य स्वच्छता उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

Date:

पर्सा पोस्ट, भदौ ११ गते, वीरगञ्ज , पर्सा ।
चाडपर्वलाई लक्षित गर्दै वीरगञ्जमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणसँगै बजारमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा बिहीबार विभिन्न पसल तथा व्यवसायको अनुगमन गरिएको हो।

 

अनुगमनका क्रममा वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित दिव्य इम्पेक्सले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिम कसुर गरेको पाइएपछि सोही ऐनको दफा ३९ (घ) बमोजिम रु. ५० हजार जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।

यसैगरी आदर्शनगरस्थित रुङ्गटा मलमा सञ्चालित क्याफे मोकामा समेत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा क्याफेले बिलबिजक जारी गर्ने गरेको, सरसफाइ राम्रो रहेको तथा मूल्यसूची राखेको पाइएको थियो। तर, पाउरोटी तथा केक उत्पादनका लागि लिएको उद्योगसम्बन्धी अनुमतिबाट उत्पादन गरिएका सामग्री क्याफेबाट बिक्री गर्दै आएको पाइएपछि क्याफेको छुट्टै अनुमति लिएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।

चाडपर्वको समयमा उपभोक्ताको भिड बढ्ने भएकाले बजारमा खाद्य वस्तुको गुणस्तरमा विशेष ध्यान दिँदै आदर्शनगरस्थित मेजवानी स्वीट्समा समेत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा पसलले खाद्य स्वच्छता मापदण्ड पालना गरेको, बिलबिजक जारी गरेको, मूल्यसूची राखेको तथा व्यवसाय दर्ता र नवीकरणलगायतका आवश्यक कागजात दुरुस्त राखेको पाइएको अनुगमन टोलीका सदस्य प्रकाशकुमार शाहले जानकारी दिए।

चाडपर्वको मौका छोपेर कतिपय व्यवसायीले खाद्य स्वच्छता मापदण्डविपरीत गुणस्तरहीन सामग्री तथा बासी मिठाई बिक्री–वितरण गर्न सक्ने सम्भावना भएकाले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका खाद्य निरीक्षक अधिकृत श्रवणकुमार साहले बताए।

उनका अनुसार नियमित अनुगमनले व्यवसायीलाई जिम्मेवार बनाउन, खाद्य स्वच्छता कायम गर्न तथा बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय पर्सा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, जिल्ला प्रहरी कार्यालय पर्सा तथा उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधिहरू सहभागी थिए।

अनुगमन टोलीले खाद्य स्वच्छता मापदण्डविपरीत कार्य गर्ने जोसुकैलाई पनि नछाडिने र कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ। मानव स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि व्यवसायी वा व्यक्ति कानुनी कारबाहीको भागीदार बन्ने चेतावनी दिँदै टोलीले बजार स्वच्छ र सुरक्षित राख्नु सबैको साझा जिम्मेवारी भएको जनाएको छ।

“हामी सबै उपभोक्ता हौँ। हामीले उत्पादन गरेका वस्तु तथा सेवा बिक्री गर्छौँ भने आवश्यक अन्य वस्तु तथा सेवा अरूबाट खरिद पनि गर्छौँ। त्यसैले आफू व्यवसायी हुँदा उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकता दिनुपर्छ,” अनुगमन टोलीले जनाएको छ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य वस्तुको गुणस्तर कायम गर्न व्यवसायीले स्वच्छता, मूल्यसूची, बिलबिजक, म्याद तथा लेबलिङलगायतका विषयमा विशेष ध्यान दिनुपर्नेमा टोलीले जोड दिएको छ। साथै, उपभोक्तालाई पनि शंकास्पद, म्याद गुज्रिएका वा गुणस्तरहीन खाद्य सामग्री बिक्री भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...