कोही पनि नाङ्गो नरहोस्’ अभियानको सात वर्ष पूरा, वीरगञ्ज कपडा बैंक आठौँ वर्षमा , स्थापना दिवसमा ८० थान कपडा वितरणसँगै दीप प्रज्वलन, असहाय तथा विपन्नको सेवामा निरन्तर लाग्ने प्रतिबद्धता

Date:

पर्सा पोस्ट, भदौ ७ गते, वीरगञ्ज ।
‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूल उद्देश्यका साथ वीरगञ्जमा स्थापना भएको वीरगञ्ज कपडा बैंकले सात वर्षको सामाजिक सेवा यात्रा पूरा गर्दै आठौँ वर्षमा प्रवेश गरेको छ।

स्थापना दिवसको अवसरमा कपडा बैंकले शनिबार वीरगञ्जको घण्टाघरस्थित स्वर्गीय रामजन्म तिवारीको सालिक परिसरमा कपडा वितरण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो।
कार्यक्रमका क्रममा आवश्यकतामा रहेका विभिन्न व्यक्तिलाई करिब ८० थान कपडा वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए। स्थापना दिवसको अवसरमा दीप प्रज्वलनसमेत गरिएको थियो।

वीरगञ्ज कपडा बैंकले २०७६ साल भदौ ७ गते वीरगञ्ज महानगरपालिका–८ मा कार्यालय स्थापना गरी दिनदुःखी, असहाय तथा विपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। बैंकले नयाँ कपडासँगै प्रयोग गर्न मिल्ने पुराना कपडासमेत संकलन गरी आवश्यकतामा रहेका व्यक्तिसम्म पुर्‍याउँदै आएको जनाएको छ।

# ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने अभियान:
कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका संरक्षक समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीले ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रका साथ दिनदुःखी तथा असहायको सेवाका लागि कपडा बैंक स्थापना गरिएको बताए।

सात वर्षको यात्रामा कपडा बैंकले समाजका विभिन्न वर्गबाट प्राप्त सहयोगलाई आवश्यकतामा रहेका व्यक्तिसम्म पुर्‍याउने काम गर्दै आएको उनले बताए।

कुर्मीले नयाँ कपडाका साथै प्रयोग गर्न मिल्ने पुराना कपडा संकलन गरेर विपन्न तथा असहाय व्यक्तिलाई वितरण गर्दै आएको उल्लेख गर्दै संस्थाको अभियानलाई निरन्तरता दिन दाताहरूको महत्वपूर्ण योगदान रहेको बताए।

उनले कपडा तथा आर्थिक सहयोग गर्दै आएका दाता, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गरे।
# दैनिक निःशुल्क कपडा वितरण:
कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले ‘तपाईंसँग धेरै छ भने हामीलाई दिनुस्, तपाईंलाई आवश्यकता छ भने हामीसँग निःशुल्क लिएर जानुस्’ भन्ने अभियानलाई निरन्तरता दिइरहेको बताए।

उनका अनुसार वीरगञ्ज–८ स्थित कपडा बैंकको कार्यालयबाट दैनिक रूपमा निःशुल्क कपडा वितरण हुँदै आएको छ। त्यस्तै, महिनामा एक–दुई पटक घण्टाघरलगायतका सार्वजनिक स्थानमा पुगेर समेत आवश्यकतामा रहेका व्यक्तिलाई कपडा वितरण गर्ने गरिएको छ।

पर्सा र बाराका विभिन्न क्षेत्रमा आगलागी तथा बाढीबाट प्रभावित परिवारको घरमै पुगेर कपडा वितरण गरिएको सिंहले बताए। आवश्यकताअनुसार खाद्यान्न तथा अन्य सामग्रीसमेत सहयोग गर्दै आएको उनको भनाइ छ।

# सेवाको दायरा थप विस्तार गर्ने प्रतिबद्धता:
अध्यक्ष सिंहले सात वर्षको अवधिमा संस्थाले निरन्तर सेवा गर्दै आए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए। आगामी दिनमा कपडा बैंकको सेवाको दायरा थप विस्तार गर्दै सामाजिक सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

उनले स्थापना कालदेखि कपडा बैंकलाई सहयोग गर्दै आएका दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारगृह, पत्रकार, पदाधिकारी तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यका लागि आग्रह गरे।

# विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता:
बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक एवं समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मी प्रमुख अतिथि रहेका थिए। अधिवक्ताद्वय पन्नालाल गुप्ता र प्रकाश उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, सल्लाहकार तथा सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, सदस्य जानकी देवी, विपिन पटेल, कर्मचारी मिथलेश श्रीवास्तव, सञ्चारकर्मी राज सर्राफ, आकाश पटेललगायतको सहभागिता रहेको थियो।

दीप प्रज्वलन तथा कपडा वितरणसँगै सम्पन्न स्थापना दिवस कार्यक्रमले वीरगञ्ज कपडा बैंकको सात वर्षे सामाजिक सेवा यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा असहाय, विपन्न तथा आवश्यकतामा रहेका समुदायसम्म सेवा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...

नेपाल प्रौढ संघ पर्साद्वारा निःशुल्क भोजन अभियान शुभारम्भ

पर्सा पोस्ट, भाद्र ०६ गते, वीरगञ्ज । नेपाल प्रौढ संघ...