पर्सा पोस्ट, भदौ ०६ गते, वीरगञ्ज ।
ब्रह्माकुमारी संस्थाकी पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिज्यूको ९९औँ पुण्यतिथिको पावन अवसरमा ब्रह्माकुमारीज वीरगञ्जको आयोजनामा रक्तदान तथा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित विश्वदर्शन भवन परिसरमा आयोजित शिविरमा सर्वसाधारणले रक्तदान गर्नुका साथै निःशुल्क आँखा परीक्षण सेवा लिएका थिए। मानवीय सेवाको भावना अभिवृद्धि गर्दै आवश्यक परेका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

ब्रह्माकुमारीज वीरगञ्जकी प्रमुख राजयोगिनी रबिना दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख एसपी मोहन बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा श्रीमती मधु राणा, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का अध्यक्ष ग्यासुदिन ठकुराई, सञ्चारकर्मी राज सरार्फ, कन्हैया पटेललगायतको उपस्थिति रहेको थियो।
किरण आँखा अस्पतालको सहयोगमा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा सहभागीहरूको आँखाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आँखासम्बन्धी समस्या देखिएका सहभागीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यक परामर्शसमेत प्रदान गरेका थिए।

यसैगरी, ब्रह्माकुमारीज वीरगञ्जको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित ४३ जनाले रक्तदान गरेका छन्। त्यस्तै, ब्रह्माकुमारीज सिमराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित ३४ जना र भाथाबाबा मन्दिरको आयोजनामा भएको रक्तदान कार्यक्रममा २ जनाले रक्तदान गरेका छन्।

तीनवटै स्थानमा गरी कुल ७९ जनाले रक्तदान गरेका हुन्। रक्तदान गर्नेमा महिलाको सहभागितासमेत उल्लेख्य रहेको आयोजकले जनाएको छ।

रक्तदानजस्तो मानवीय सेवाबाट आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

ब्रह्माकुमारीज वीरगञ्जले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि मानव सेवा र सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

बिहान ८ बजेदेखि सुरु भएको शिविर दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो।
