नेपाल प्रौढ संघ पर्साद्वारा निःशुल्क भोजन अभियान शुभारम्भ

Date:

पर्सा पोस्ट, भाद्र ०६ गते, वीरगञ्ज ।
नेपाल प्रौढ संघ पर्साले वीरगञ्ज महानगरपालिका–स्थित रेल्वेरोडमा रहेको पञ्चमुखी हनुमान मन्दिर परिसर नजिक शनिबारदेखि निःशुल्क भोजन सेवा अभियान शुभारम्भ गरेको छ। संघले सामाजिक तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै विपन्न, असहाय तथा दैनिक ज्यालामजदुरी गरी जीवनयापन गर्नेहरूलाई लक्षित गरी अभियान सुरु गरेको हो।

निःशुल्क भोजन कार्यक्रममा संघका सेवकहरूले बाटोमा हिँड्ने बटुवा, पर्यटक, रिक्सा, ठेला तथा ई–रिक्सा चालक, विपन्न र असहाय व्यक्तिहरूलाई निःशुल्क भोजन गराएका थिए। कार्यक्रममा दाल, भात, आलु–भन्टा–मुलाको मिश्रित तरकारी, भुटेको हरियो खुर्सानी तथा काक्रो, मुला र टमाटरको सलादसहितको भोजन खुवाइएको थियो।

नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार तथा वरिष्ठ समाजसेवी गौरी गुप्ता, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, अमरटोल टोल सुधार समिति वीरगञ्जका सचिव तथा युवा समाजसेवी नवराज भट्टराई, कोषाध्यक्ष श्रवणबहादुर रायमाझी, सचिव रितेश गुप्ता, सञ्जीव श्रीवास्तव, युवा अभियन्ता तथा सञ्चारकर्मी आकाश पटेललगायत संघका पदाधिकारी, सदस्य तथा स्थानीय अग्रज र युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सेवा गर्दै वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले दिनदुःखी तथा असहायको सेवा र सहयोग नै मानवताको सबैभन्दा ठूलो धर्म भएको बताए। संघका सेवकहरूले घरमा जस्तै सफा, स्वच्छ, पौष्टिक तथा गुणस्तरीय भोजन तयार गरी सम्मानपूर्वक भोजन गराएको भन्दै उनले अभियानको प्रशंसा गरे।

भोजन वितरणका क्रममा सेवाग्राहीलाई बसाएर सोधपुछ गर्दै आवश्यकताअनुसार थप भोजनसमेत उपलब्ध गराइएको देख्दा आफू निकै खुसी भएको सिंहले बताए। उनले यस्तो मानवीय सेवाको अभियानलाई निरन्तरता दिँदै अन्य टोल तथा क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए। नेपाल प्रौढ संघ पर्साले सुरु गरेको अभियानमा सबै पक्षले हातेमालो गरी मानवता र सामाजिक सद्भावलाई थप बलियो बनाउन उनले आग्रह गरे।

संघका अध्यक्ष अहिरका अनुसार निःशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार बिहान ९ः३० बजेदेखि सञ्चालन गरिनेछ। पदाधिकारी तथा सहयोगी दाताहरूको सहयोगमा अभियान सुरु गरिएको जानकारी दिँदै उनले सहयोगी हातहरू थपिँदै गएमा महिनामा एकपटकबाट बढाएर प्रत्येक १५ दिनमा र त्यसपछि प्रत्येक शनिबारसमेत निःशुल्क भोजन सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताए।
विपन्न तथा असहाय नागरिकको सेवाका लागि संघ तयार रहेको बताउँदै अध्यक्ष अहिरले अभियानलाई निरन्तरता दिन मानवताप्रेमी व्यक्ति, संस्था तथा सहयोगी दाताहरूको साथ र सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा निःशुल्क भोजन ग्रहण गरेका सेवाग्राहीहरूले नेपाल प्रौढ संघका सेवकहरूले गरेको सेवा कार्यको प्रशंसा गर्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए। सेवकहरूले सम्मानपूर्वक भोजन गराएको र कार्यक्रम व्यवस्थापनसमेत व्यवस्थित रहेको भन्दै उनीहरूले यस्ता मानवीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

संघले निःशुल्क भोजन अभियानलाई केवल भोजन वितरणमा सीमित नराखी आगामी दिनमा सामाजिक सेवा, मानवीय सहयोग र विपन्न वर्गको हितमा थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...