पर्सा पोस्ट, बैशाख १९ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको व्यापक अनुगमन अभियान सुरु गरेको छ। मसाज सेन्टरको आडमा अवाञ्छित तथा गैरकानुनी गतिविधि भइरहेको भन्ने गुनासो बढ्दै गएपछि महानगरले मंगलबारदेखि अभियानलाई तीव्रता दिएको हो।
नगर प्रहरी इन्चार्ज हरि भुषालका अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन अभियानलाई महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमन कार्यका लागि नेपाल प्रहरीसँग समन्वय गरी नगर प्रहरी टोली परिचालन गरिएको छ।
अनुगमनका क्रममा सञ्चालक तथा कर्मचारीहरूको विवरण संकलन गर्नुका साथै नाबालिका प्रयोग भए/नभएको, सेवा सञ्चालनको प्रकृति, अनुमति पत्र, व्यवसाय दर्ता, कर भुक्तानीको अवस्था तथा प्रचलित मापदण्डको पालना भए/नभएको विषयमा विशेष निगरानी राखिएको छ।
नगर प्रहरीका अनुसार हालसम्म गरिएको अनुगमनका क्रममा दुई वटा स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएको छ। यसप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महानगरले यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।
अहिलेसम्म करिब एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन सम्पन्न भइसकेको छ। प्रारम्भिक अनुगमनबाट केही व्यवसायमा आवश्यक कागजात अपूर्ण रहेको तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ।
महानगरपालिकाले मापदण्ड नपुर्याउने, गैरकानुनी गतिविधिमा संलग्न तथा सामाजिक मर्यादा विपरीत कार्य गर्ने व्यवसायमाथि कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेको छ। साथै, आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गरिने जनाएको छ।
महानगरले नागरिकहरूलाई पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।