पर्सा पोस्ट , बैशाख २० गते , वीरगञ्ज ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार वीरगञ्जमा प्रभातफेरी तथा कोण सभा गरी विभिन्न कार्यक्रमका साथ दिवस मनाइएको छ। देशभर सरकारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रमअन्तर्गत वीरगञ्जमा पनि पत्रकारहरूले प्रदर्शन गरेका हुन्।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा निकालिएको प्रभातफेरी घण्टाघरबाट सुरु भई माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ र घडिअर्वा हुँदै पुनः घण्टाघरमै पुगेर कोण सभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले प्रेसमाथि सरकारले लगाउन खोजेको नियन्त्रणप्रति कडा आपत्ति जनाए। उनले सरकारले ल्याएको नीतिका कारण निजी सञ्चारमाध्यमहरू आर्थिक संकटमा परेको उल्लेख गर्दै सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय तुरुन्त फिर्ता लिन माग गरे।
उनका अनुसार उक्त नीतिले श्रमजीवी पत्रकारहरू पलायन हुने अवस्था सिर्जना भएको छ। “सरकारले सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी गर्न खोजेको छ, यदि यस्तो निर्णय फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिन्छौं,” उनले चेतावनी दिए। साथै उनले सरकारका गैरसंवैधानिक कदमविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा समेत आवाज उठाइने र आवश्यक परे संयुक्त राष्ट्रसंघसम्म पुग्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले राजनीतिक दलहरू सत्तामा पुगेपछि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रवृत्ति देखिँदै आएको आरोप लगाए। उनले सत्ता बाहिर रहँदा प्रेस स्वतन्त्रताको वकालत गर्ने दलहरू सत्तामा पुगेपछि सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने गरेको टिप्पणी गरे।
उनले सञ्चारमाध्यमले सत्तामा रहेका व्यक्तिहरूको गतिविधिमाथि निगरानी राख्ने भएकाले मिडियालाई कमजोर पार्ने प्रयास भइरहेको धारणा व्यक्त गरे।
अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य विजय भण्डारी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, हिन्दू पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियार , मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर खान लगायतले मन्तव्य राख्दै प्रेस स्वतन्त्रता र सञ्चार माध्यमको अधिकार संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा देशका विभिन्न स्थानहरूमा पनि पत्रकारहरूले विरोध कार्यक्रम, र्याली तथा कोण सभा गरी सरकारको नीतिविरुद्ध आवाज उठाएका छन्।