पर्सा पोस्ट, चैत २० गते, वीरगंज ।
दृष्टि सम्बन्धी अपाङ्गता भएका खेलाडीहरूको क्षमता विकास तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्यले मधेश प्रदेश नेत्रहीन क्रिकेट संघद्वारा ५ दिने विशेष प्रशिक्षण कार्यक्रम वीरगंजमा सुरु गरिएको छ।
राउन्ड टेबल नेपाल BFRT–8 को सहयोगमा शनिबार वीरगंज–५ स्थित मुनलाइट स्कुलमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।
देशका विभिन्न १२ जिल्लाबाट आएका २० जना दृष्टि अपाङ्गता भएका खेलाडीहरू सहभागी उक्त प्रशिक्षण कार्यक्रममा पर्वत, तनहुँ, चितवन, गोरखा, पर्सा लगायत मधेश प्रदेशका जिल्लाहरूको प्रतिनिधित्व रहेको छ। कार्यक्रमको अध्यक्षता आइज नेपाल पर्साकी कोषाध्यक्ष रुपशिला जैसवालले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा राउन्ड टेबल नेपाल BFRT–8 का अध्यक्ष दिपक कुमार अग्रवाल उपस्थित थिए। उनले ब्यानर वाचन गर्दै प्रशिक्षणको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रवालले राउन्ड टेबल नेपालले सधैं विपन्न तथा असहाय समुदायका लागि सेवा गर्दै आएको उल्लेख गर्दै दृष्टि अपाङ्गता भएका खेलाडीहरूको प्रतिभा विकासमा योगदान गर्न पाउँदा गर्व लागेको बताए। उनले खेलाडीहरूलाई निरन्तर मेहनत गर्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे।
विशिष्ट अतिथि तथा शिक्षाविद् मार्टिन मोक्तानले यस्ता खेलाडीहरूबाट समाजले धेरै सिक्नुपर्ने उल्लेख गर्दै उनीहरूको धैर्यता र संघर्ष प्रेरणादायी भएको बताए। उनले स्थानीय, प्रदेश तथा संघीय सरकारले यस्ता खेलाडीहरूको जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
त्यस्तै, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले सहभागी खेलाडीहरूलाई “विशिष्ट व्यक्तित्व” को संज्ञा दिँदै उनीहरूको आत्मबल र प्रयासको प्रशंसा गरे। जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सराफले पनि खेलाडीहरूको हौसला बढाउँदै सरकारको भूमिका अझ सशक्त हुनुपर्ने बताए।
राउन्ड टेबलका मोहित राजपालले संस्थाले विभिन्न सामाजिक कार्यक्रममार्फत सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूमा निरन्तर साथ दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी मनकेशी चौधरीले अतिथिहरूलाई खादा लगाएर स्वागत गरेकी थिइन्। स्वागत मन्तव्य आइज नेपाल पर्साका सचिव उदित कुमार साहले राखेका थिए भने कार्यक्रमको सहजीकरण मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष तथा आइज नेपाल अध्यक्ष महेश साहले गरेका थिए।
कार्यक्रमका अध्यक्ष जैसवालले समाजमा पछाडि परेका खेलाडीहरूको आकांक्षा र आवश्यकतालाई बुझेर सहयोग गर्न सबैमा आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू, मुनलाइट स्कुल परिवार तथा उपस्थित अतिथिहरूप्रति आभार व्यक्त गरिन्।
प्रशिक्षण कार्यक्रम ५ दिनसम्म सञ्चालन हुने छ, जसमा खेलाडीहरूलाई क्रिकेटसम्बन्धी प्राविधिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।