पर्सा पोस्ट , चैत २० गते , वीरगञ्ज ।
पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर मुद्दामा उनलाई वारिसमार्फत उपस्थित हुन अनुमति दिएको छ।
बुधबार पर्सा जिल्ला अदालतमा तारिख लिन उपस्थित भएका लामिछानेले आफ्नो मुद्दामा वारिस राख्न पाऊँ भन्दै निवेदन दिएका थिए। सो निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेशी तोकिएको थियो।
बिहीबार भएको सुनुवाइमा निवेदकको तर्फबाट अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बहस गर्दै लामिछाने विशेष परिस्थितिका कारण तोकिएको मितिमा व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने बताएका थिए। उनले स्वास्थ्य अवस्था तथा देशका विभिन्न अदालतहरूमा एकै समयमा चलिरहेका अन्य मुद्दाहरूका कारण उपस्थित हुन कठिन हुने तर्क प्रस्तुत गरेका थिए।
उक्त बहसपछि न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले पेश भएका कागजात तथा तर्कहरूको मूल्याङ्कन गर्दै लामिछानेलाई वारिसमार्फत उपस्थित हुन अनुमति दिने आदेश जारी गरेको हो।
अधिवक्ता पटेलका अनुसार अदालतले आवश्यक परेको अवस्थामा वारिसमार्फत नै प्रतिनिधित्व गराउन सकिने स्पष्ट व्यवस्था समेत आदेशमा उल्लेख गरेको छ।
यो आदेशसँगै अब लामिछानेले आफ्ना कानुनी प्रक्रिया वारिसमार्फत अघि बढाउन पाउने भएका छन्, जसले उनको अन्य अदालतमा रहेका मुद्दाहरूको व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।