पर्सा पोस्ट, मंसिर १३, बिरगंज । भीएस पावरप्ले टी–२० च्यालेञ्ज– वीरगन्ज स्कूल्स कप २०८२ अन्तर्गत शनिबार सम्पन्न दोस्रो दिनका दुवै खेलमा बाल एकता सेकण्डरी स्कुल, कलैया र विद्या सदन सेकण्डरी स्कुल विजयी बनेका छन्।
पहिलो खेलमा दक्षिण जोन सेकण्डरी स्कुलले टस जितेर पहिलेदेखि ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभर पूरा गर्न नसक्दै टोली १९.३ ओभरमा १०५ रनमै अलआउट भयो। लक्ष्य पछ्याउन मैदान उत्रिएको बाल एकता सेकण्डरी स्कुलले उत्कृष्ट खेल प्रदर्शन गर्दै १४.५ ओभरमा २ विकेट गुमाउँदै १०९ रन पूरा गरि खेललाई ८ विकेटले जितेको हो।
यस खेलमा बाल एकताका आदित्य यादव ५८ रनको उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा विद्या सदन सेकण्डरी स्कुल ले टस जितेर पहिलेदेखि ब्याटिङ गर्ने निर्णय गर्यो र निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनको प्रतिस्पर्धात्मक योगफल राख्यो।
जवाफमा उत्रिएको गौतम सेकण्डरी स्कुल मात्र १५ ओभरमै ७३ रनमा समेटिँदै ६९ रनले पराजित भयो।
खेलमा विद्या सदनका समीर अन्सारी ४३ रन र २ विकेट लिएर म्यान अफ द म्याच बने।
यस्तै, प्रतियोगिताको तेस्रो दिन आइतबार बिहान ९ बजे कादम्बरी सेकण्डरी स्कुल र एल्पाइन सेकण्डरी स्कुल तथा दिउँसो १२ बजे ग्रीन ल्यान्ड सेकण्डरी स्कुल र ज्ञानोदय सेकण्डरी स्कुलबीच भिडन्त हुने सूचना आयोजकले दिएको छ।
दुवै खेल नारायणी क्रिकेट ग्राउण्ड, वीरगन्ज मा नियत समयमै सुरु हुने आयोजकले जनाएको छ।