शैक्षिक क्षेत्रमा सक्रिय शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्सा , उत्कृष्ट विद्यार्थी सम्मान गर्ने निर्णय

Date:

पर्सा पोस्ट, जेष्ठ ०५ गते, वीरगञ्ज ।
शिक्षा, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साले आगामी दिनमा विभिन्न महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानको हालै सम्पन्न बैठकले विद्यार्थी प्रोत्साहन, नेतृत्व विकास तथा सामाजिक चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै विविध योजनाहरू अघि बढाउने निर्णय गरेको हो। प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न बैठकमा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने निर्णय गरिएको छ। शिक्षा क्षेत्रमा मेहनत र लगनशीलतासाथ सफलता हासिल गरेका विद्यार्थीलाई सम्मान गर्दा अन्य विद्यार्थीमा समेत सकारात्मक प्रेरणा मिल्ने विश्वास प्रतिष्ठानले लिएको जनाएको छ।

त्यसैगरी, जिल्लास्तरीय विद्यालयहरूमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरिएको छ। विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गर्ने कला विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूको धारणा रहेको थियो। प्रतियोगितामार्फत विद्यार्थीहरूमा सामाजिक, शैक्षिक तथा राष्ट्रिय विषयप्रति सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

बैठकले वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरू तथा आवश्यकता अनुसारका सार्वजनिक क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै विद्यालय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिष्ठानले विगतदेखि नै शैक्षिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ। शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने शिक्षक, प्राध्यापक तथा विद्यार्थीहरूलाई सम्मान गर्ने, उनीहरूको हौसला अभिवृद्धि गर्ने कार्यलाई प्रतिष्ठानले निरन्तरता दिँदै आएको छ।

त्यसैगरी सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, गर्मी मौसममा चिसो सर्बत तथा पानी वितरण, मानवसेवा आश्रममा सहयोग, स्वास्थ्य शिविर आयोजना लगायतका कार्यक्रमहरू वार्षिक रूपमा सञ्चालन हुँदै आइरहेका छन्।

प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्यायले सोही अनुरूप २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने निर्णय आजको बैठकबाट पारित भएको जानकारी दिनुभयो।

बैठकमा प्रतिष्ठानका उपाध्यक्ष युवराज खड्का, सचिब लालबाबु सिंह , सदस्यहरु श्रवण बहादुर रायमाझी, अभिलाष गुप्ता, सुर्या नारायण बिक, सुबास सिंह, रितेश गुप्ता, प्रिया मिश्रा, बिना खतिवडा, शर्मा गोसाई, नन्दलाल यादव, हरेराम ठाकुर, संजय पटेल, नवराज भट्टराई, प्रभु प्रसाद रौनियार, पवन श्रेष्ठ, सुबास भट्टराई  लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित सदस्यहरूले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए। प्रतिष्ठानले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित, समाज उपयोगी तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सक्रिय भूमिका खेल्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...