पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षा बुझ्ने उद्देश्यले सञ्चालन गर्न लागेको ‘हामी आउँदैछौँ’ अभियान पर्साको वीरगञ्ज महानगरपालिका–२, छपकैयाबाट उत्साहपूर्वक शुभारम्भ गरेको छ।

रास्वपा वीरगञ्ज महानगरपालिका–२ का वडा सभापति समसाद आलमको नेतृत्वमा आयोजित अभियान शुभारम्भ कार्यक्रममा पार्टीका माननीय प्रमोद कुमार महतो सहभागी हुनुभएको थियो। कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उहाँहरूले वडाका विभिन्न समस्या, विकासका आवश्यकता तथा स्थानीय जनताका प्राथमिकताबारे जानकारी लिनुभएको थियो।

कार्यक्रममा स्थानीयवासीले आफ्नो टोल तथा वडामा देखिएका विभिन्न समस्या, विकास निर्माण, पूर्वाधार, सरसफाइ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए। सहभागी नेताहरूले जनताबाट प्राप्त सुझाव र गुनासोलाई सम्बोधनका लागि सम्बन्धित तहमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

रास्वपाले ‘हामी आउँदैछौँ’ अभियानलाई केवल औपचारिक राजनीतिक कार्यक्रमका रूपमा नभई जनताको घरदैलोमा पुगेर उनीहरूका वास्तविक समस्या सुन्ने, आवश्यकताहरू पहिचान गर्ने र समाधानका लागि पहल गर्ने अभियानका रूपमा अघि बढाउने जनाएको छ।

अभियानअन्तर्गत आगामी दिनमा पनि विभिन्न क्षेत्र तथा समुदायमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका समस्या र अपेक्षा संकलन गर्ने तथा जनताको सहभागिता मार्फत जिम्मेवार र उत्तरदायी राजनीतिक संस्कार निर्माण गर्ने उद्देश्य रहेको बताइएको छ।
कार्यक्रममा सहभागी रास्वपाका नेता तथा कार्यकर्ताहरूले परिवर्तनको प्रतीक्षा मात्र नभई परिवर्तनका लागि नागरिकसँगै सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।

रास्वपाले जनताको आवाजलाई प्राथमिकतामा राख्दै अभियानलाई देशव्यापी रूपमा अघि बढाउने जनाएको छ। ‘जनताको साथमा, जनताको आवाज बोकेर’ भन्ने भावनासहित सुरु गरिएको अभियानले आगामी दिनमा पार्टीको जनसम्पर्क तथा संगठन विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।