पर्सा पोस्ट , असोज २६ गते , वीरगञ्ज ।
उपभोक्ता अधिकारको संरक्षण, उपभोक्तामाथि हुने ठगी तथा अन्यायविरुद्ध पैरवी र कानुनी लडाइँ लड्दै आएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष तथा उपमहासचिवले बेल्जियममा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको १९औँ वार्षिक साधारणसभामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका छन्।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका तर्फबाट विदेशमा आयोजित कार्यक्रममा सहभागी भई नेपालको उपभोक्ता अधिकार अभियानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसरका रूपमा यस सहभागितालाई लिइएको छ।
वि.सं. २०५१ सालदेखि निरन्तर रूपमा उपभोक्ताको हकहित संरक्षण, बजारमा हुने अनियमितता नियन्त्रण, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न मञ्चले विभिन्न कार्यक्रम, जनचेतनामूलक अभियान, नीतिगत पैरवी तथा कानुनी संघर्ष गर्दै आएको छ। उपभोक्तालाई सचेत बनाउनेदेखि उपभोक्तामाथि हुने अन्यायविरुद्ध सम्बन्धित निकायमा आवाज उठाउनेसम्मका कार्यमा मञ्चले निरन्तर सक्रियता देखाउँदै आएको छ।
उपभोक्ता अधिकार संरक्षणको क्षेत्रमा लामो समयदेखि क्रियाशील संस्थाका नेतृत्व तहका प्रतिनिधिहरूले विदेशमा आयोजित कार्यक्रममा सहभागिता जनाउनु संस्थाका लागि मात्र नभई नेपालको उपभोक्ता अधिकार अभियानका लागि पनि महत्वपूर्ण विषय हो। यसले विदेशमा रहेका नेपाली समुदायबीच उपभोक्ता अधिकारसम्बन्धी विषयमा अनुभव आदानप्रदान, सहकार्य तथा नेपालको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यस अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट बेल्जियम पुगेर संस्थाको प्रतिनिधित्व गर्नुहुने केन्द्रीय अध्यक्ष तथा उपमहासचिवप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँहरूको सहभागिताले नेपालको उपभोक्ता अधिकार अभियानलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
साथै, आगामी दिनमा पनि उपभोक्ताको हकहित संरक्षण, स्वच्छ बजार प्रवर्द्धन, उपभोक्ता सचेतना अभिवृद्धि तथा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि उहाँहरूको नेतृत्व र सक्रियता अझ सशक्त बनोस् भन्ने कामनासहित हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ।
उपभोक्ताको अधिकार, सम्मान र न्यायका लागि वि.सं. २०५१ सालदेखि निरन्तर पैरवी तथा कानुनी संघर्ष गर्दै आएको उपभोक्ता हित संरक्षण मञ्च नेपालको अभियानले राष्ट्रिय सीमाभन्दा बाहिर पनि थप पहिचान र उचाइ प्राप्त गरोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।