पर्सा पोस्ट, असोज २४ गते, वीरगञ्ज।
वीरगञ्जमा मानव सेवा, सद्भाव र भाइचाराको भावना बोकेर सञ्चालन हुँदै आएको ‘सद्भाव साप्ताहिक निःशुल्क भोजन सेवा’ ले ४००औँ सप्ताह पूरा गरेको छ। प्रत्येक शनिबार बिहान घरको खानाजस्तै दाल, भात, तरकारी र अचारसहित निःशुल्क भोजन खुवाउँदै आएको यस अभियानको ४००औँ सप्ताहको अवसरमा विशेष भोजन वितरण कार्यक्रम आयोजना गरिएको हो।

वीरगञ्जको मेनरोडस्थित आदर्शनगर चोकमा प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको उक्त भोजन सेवा कार्यक्रमअन्तर्गत यसपटक ठूलो अमावस्याको अवसर पारेर हलुवा, पुरी, तरकारी तथा तरकारी भात वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा करिब ५०० जनाले भोजन ग्रहण गरेका थिए।
कार्यक्रमका संयोजक रमेश जाटियाका अनुसार सद्भाव साप्ताहिक भोजन सेवा साथीभाइको आपसी सहयोग र सहकार्यमा निरन्तर सञ्चालन हुँदै आएको छ। ४०० सप्ताहसम्म आइपुग्नु सबै सहयोगी साथीहरूको साथ, समर्पण र सेवाभावको परिणाम भएको उहाँले बताउनुभयो।

जाटियाले प्रत्येक शनिबार बिहान सर्वसाधारणलाई घरमा तयार गरिने खानाजस्तै दाल, भात, तरकारी र अचारसहितको भोजन निःशुल्क खुवाउँदै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार यस अभियानमा अहिलेसम्म न स्थानीय सरकारबाट सहयोग प्राप्त भएको छ, न त कुनै संघसंस्थाबाट नै आर्थिक सहयोग मिलेको छ। साथीभाइहरूको आपसी सहयोगकै भरमा कार्यक्रमलाई निरन्तरता दिइँदै आएको उहाँको भनाइ छ।
´अहिलेसम्म हामी साथीभाइहरूको सहयोगले यो सेवा सञ्चालन गर्दै आएका छौँ। आज ४००औँ सप्ताह पूरा भएको दिन हो। भगवान्को आशीर्वाद रहुन्जेलसम्म यो पुण्य कार्यलाई निरन्तरता दिन्छौँ, त्यसपछि हेरौँला,’ जाटियाले भन्नुभयो।
उहाँले निःशुल्क भोजन सेवा केवल भोक मेटाउने माध्यम मात्र नभई समाजमा आपसी सद्भाव, मानवीयता र भाइचाराको सम्बन्ध बलियो बनाउने अभियानसमेत भएको उल्लेख गर्नुभयो। आर्थिक अवस्था कमजोर भएका तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सम्मानपूर्वक भोजन उपलब्ध गराउनु यस अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
जाटियाले यस्तो पुण्य कार्यलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै समाजका सबै वर्ग, समुदाय तथा सहयोगी मन भएका व्यक्तिहरूलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो। मानवता र सामाजिक सद्भावको भावना विकास गर्न यस्ता सेवामूलक कार्यमा सबैले आ–आफ्नो तर्फबाट योगदान गर्नुपर्ने उहाँको भनाइ थियो।
साथीभाइको सहयोग र सेवाभावका आधारमा ४०० सप्ताहसम्म निरन्तर सञ्चालन हुनु सद्भाव साप्ताहिक भोजन सेवाको महत्वपूर्ण उपलब्धि हो। नियमित रूपमा निःशुल्क भोजन वितरण गर्दै आएको यस अभियानले समाजमा सहयोग, सहकार्य र मानवीय सेवाको सन्देश प्रवाह गरिरहेको छ।