वीरगन्जमा अव्यवस्थित इन्टरनेट र केबलका तार हटाइँदै, शंकराचार्य गेटदेखि छपकैयासम्म पहिलो चरणको अभियान

Date:

पर्सा पोस्ट, भदौ १७ गते, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी रूपमा छरिएका इन्टरनेट तथा टेलिभिजन केबलका तार व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले भोलि बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सुरु गर्ने निर्णय गरेको हो।

अव्यवस्थित रूपमा पोलमा झुन्डिएका, सडक तथा भवन आसपासमा जथाभावी तानिएका तारले शहरको सौन्दर्य बिगार्नुका साथै पैदलयात्री, सवारीसाधन तथा विद्युत् सुरक्षामा समेत जोखिम बढाएको भन्दै महानगरपालिकाले तार व्यवस्थापन अभियान अघि बढाएको जनाएको छ।

पहिलो चरणअन्तर्गत वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटदेखि छपकैयास्थित ईदगाह चौकसम्म सडक क्षेत्रमा रहेका अव्यवस्थित इन्टरनेट तथा टेलिभिजन केबलका तार हटाउने तथा आवश्यकताअनुसार व्यवस्थित गर्ने कार्य गरिनेछ।

महानगरपालिकाको प्रशासन शाखा प्रमुख विजय गुप्ताको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। इन्टरनेट तथा टेलिभिजन केबल सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकमा ७ वटा इन्टरनेट सेवा प्रदायक र १ वटा टेलिभिजन केबल सेवा प्रदायक संस्थाका प्रतिनिधि सहभागी थिए।

बैठकमा महानगरपालिकाले सञ्चालन गर्ने तार व्यवस्थापन अभियानमा सम्बन्धित सेवा प्रदायकहरूले आवश्यक सहयोग गर्ने सहमति भएको छ। महानगरपालिकाले पटक–पटक बैठकमा बोलाउँदा समेत अनुपस्थित हुने तथा अभियानमा सहयोग नगर्ने सेवा प्रदायक संस्थालाई प्रचलित कानुन तथा महानगरपालिकाको नियमअनुसार कारबाही गर्ने विषयमा समेत सहमति भएको जनाएको छ।

महानगरपालिकाले पहिलो चरणको अभियानबाट प्राप्त अनुभवका आधारमा नगरका अन्य क्षेत्रमा समेत क्रमशः अव्यवस्थित तार हटाउने तथा व्यवस्थापन गर्ने तयारी गरेको छ।

महानगरपालिकाका अनुसार अव्यवस्थित तार हटाएर व्यवस्थित बनाउँदा वीरगन्जको शहरी सौन्दर्यमा सुधार आउनुका साथै सडक तथा सार्वजनिक क्षेत्रमा हुने सम्भावित दुर्घटना र सुरक्षा जोखिमसमेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

लामो समयदेखि वीरगन्जका विभिन्न सडक तथा चोकमा पोलहरूमा गुजुल्टिएर रहेका इन्टरनेट तथा केबलका तार व्यवस्थापन गर्न माग हुँदै आएको अवस्थामा महानगरपालिकाले अभियान सुरु गर्न लागेको हो।

महानगरको यो अभियानलाई प्रभावकारी बनाउन सेवा प्रदायक संस्थाहरूले पनि जिम्मेवार भएर सहकार्य गर्नुपर्ने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...