पर्सा पोस्ट , भदौ १५ गते , बिरगंज ।
वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशु प्रहरीले करिब १६ घण्टापछि सकुशल फेला पारेको छ। शिशु चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६, इनर्वास्थित एक घरमा डेरा गरी बस्दै आएकी महिलाको साथबाट नवजात शिशुलाई सकुशल उद्धार गरेको हो। प्रहरीले घटनालगत्तै खोजी तथा अनुसन्धानलाई तीव्र बनाउँदै रातभरि विभिन्न स्थानमा निगरानी र खोजी अभियान सञ्चालन गरेको थियो।
पर्सा प्रहरीका प्रहरी उपरीक्षक पवन भट्टराई र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा परिचालित प्रहरी टोलीले शिशुलाई फेला पार्दै महिलालाई नियन्त्रणमा लिन सफल भएको जनाइएको छ।
अस्पतालबाट शिशु चोरी भएपछि प्रहरीले सम्भावित स्थान तथा व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धान अघि बढाएको थियो। निरन्तरको खोजीपछि अन्ततः इनर्वास्थित डेराबाट शिशुसहित महिलालाई पक्राउ गरिएको हो।
पक्राउ परेकी महिलाको पहिचान प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि आधिकारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
शिशु सकुशल फेला परेपछि परिवारजनले राहतको महसुस गरेका छन् ।