पर्सा पोस्ट, साउन ०८ गते, वीरगञ्ज ।
बिरगञ्ज पब्लिक कलेज (बीपीसी)ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै दुईदिने स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा नवप्रवेशी विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नम्बर १३ गणका सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा डा. अन्जय मिश्रा, कलेजका पूर्वविद्यार्थी एवं चार्टर्ड एकाउन्टेन्ट (सीए) मौजेलाल सहनी, कलेजका शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ, कलेजका ब्रान्ड एम्बासडर देवेश गुप्तालगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले कक्षा ११ विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण चरण भएकाले सुरुदेखि नै स्पष्ट लक्ष्य निर्धारण, अनुशासन, सकारात्मक सोच र निरन्तर मेहनतलाई जीवनशैली बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले बीपीसीले विद्यार्थीलाई केवल परीक्षामुखी शिक्षा मात्र नभई नेतृत्व विकास, व्यक्तित्व निर्माण, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक सीपमा समेत सक्षम बनाउने वातावरण सिर्जना गरेको उल्लेख गर्नुभयो।
कलेजका कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले बीपीसीले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य, नवप्रवर्तन, अनुसन्धानमुखी अध्ययन तथा व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर काम गर्दै आएको बताउनुभयो। प्रतिस्पर्धात्मक युगमा सफल हुन विद्यार्थीले आत्मविश्वास, अनुशासन र सिर्जनशीलतालाई समान रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा कलेजका शैक्षिक गतिविधि, शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप, आधुनिक शिक्षण प्रणाली, छात्रवृत्ति, करियर परामर्श तथा भावी योजनाबारे विस्तृत जानकारी गराइएको थियो। साथै, नवप्रवेशी विद्यार्थीलाई बीपीसी परिवारमा औपचारिक रूपमा स्वागत गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा प्रेरणामूलक अभिमुखीकरण सत्र, विद्यार्थी–शिक्षक अन्तरक्रिया, करियर मार्गदर्शन, व्यक्तित्व विकाससम्बन्धी प्रस्तुति तथा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिएको कलेजले जनाएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले बीपीसीको शैक्षिक वातावरण, शिक्षण पद्धति तथा अवसरबारे स्पष्ट जानकारी प्राप्त भएको बताउँदै कार्यक्रम प्रेरणादायी, जानकारीमूलक र उत्साहवर्द्धक रहेको प्रतिक्रिया दिएका थिए।
अभिभावकहरूले पनि विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि कलेजले आयोजना गरेको यस्तो अभिमुखीकरण कार्यक्रम प्रभावकारी र समयसापेक्ष रहेको धारणा व्यक्त गरेका थिए।