उच्च शिक्षामा विशिस्ट योगदान पुर्‍याएबापत मधेश बिश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक बहादुर शाक्य सम्मानित

Date:

पर्सा पोस्ट , असार २७ गते , काठमाडौं । गोकर्णेश्वर–८, माकलबारीस्थित जया मल्टिपल क्याम्पसले मधेश विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद् प्रा.डा. दीपकबहादुर शाक्यलाई उच्च शिक्षाको विकास तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै ‘लेटर अफ एप्रिसिएसन’ सहित सम्मान गरेको छ।

शनिबार काठमाडौंमा आयोजित कक्षा १२ का विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रममा क्याम्पसले प्रा.डा. शाक्यको दूरदर्शी नेतृत्व, शैक्षिक समर्पण तथा गुणस्तरीय, समावेशी र पहुँचयोग्य उच्च शिक्षाको प्रवर्द्धनमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै सम्मान गरेको हो।

विश्वविद्यालयको सुदृढीकरण, अनुसन्धान, नवप्रवर्तन, सुशासन तथा व्यवहारिक शिक्षाको विकासमा उहाँले पुर्‍याउनुभएको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै क्याम्पस प्रमुख भवानी पौडेल, जया देवकोटा फाउन्डेशनका अध्यक्ष जगन्नाथ देवकोटा तथा कार्यक्रमका अध्यक्ष देवी घिमिरेलगायतले दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले प्रा.डा. शाक्यको नेतृत्वले नेपालमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि तथा शैक्षिक संस्थाहरूको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा पनि मधेश विश्वविद्यालयलाई थप प्रगतिशील, नवप्रवर्तनमुखी तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा स्थापित गर्न उहाँ सफल हुने विश्वास व्यक्त गरेका थिए।

क्याम्पसका प्राचार्य भवानी पौडेलले शिक्षा क्षेत्रलाई लामो समयदेखि योगदान दिँदै आउनुभएका शिक्षासेवी व्यक्तित्वलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। सम्मानित व्यक्तित्व प्रा.डा. शाक्यले क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूलाई शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत भविष्य निर्माण गर्न प्रेरणादायी सन्देश दिनुभएको थियो।

वीरगञ्जलाई शिक्षाको हब बनाउने अभियानका अभियन्ता
प्रा.डा. दीपकबहादुर शाक्य नेपालका अनुभवी शिक्षाविद्हरूमध्ये एक मानिनुहुन्छ। उहाँले विशेषगरी वीरगञ्जलाई शिक्षाको केन्द्र तथा “एजुकेसन हब” का रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोणका साथ आफ्नो शैक्षिक यात्रा अघि बढाउनुभएको थियो।

उहाँकै नेतृत्व र पहलमा वि.सं. २०५७ सालमा वीरगञ्ज पब्लिक कलेजको स्थापना भएको थियो। प्रारम्भिक चरणमा वीरगञ्जस्थित कन्या माध्यमिक विद्यालयको भवन भाडामा लिएर करिब १०–१२ जना विद्यार्थीबाट सुरु गरिएको उक्त कलेज आज मधेश प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित भएको छ।

हाल वीरगञ्ज पब्लिक कलेज आफ्नै अत्याधुनिक भवनमा सञ्चालन भइरहेको छ भने तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्। शैक्षिक गुणस्तर, आधुनिक शिक्षण पद्धति, अनुशासन तथा उत्कृष्ट नतिजाका कारण कलेज मधेश प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा परिचित छ। राष्ट्रिय स्तरमा समेत उत्कृष्ट कलेजहरूको सूचीमा आफ्नो पहिचान बनाउन सफल भएको छ।

शिक्षा क्षेत्रमा दशकौँ लामो अनुभव, नेतृत्व क्षमता र विभिन्न चुनौतीहरूको सफल सामना गर्दै आउनुभएका प्रा.डा. शाक्य हाल मधेश विश्वविद्यालयको पहिलो उपकुलपतिका रूपमा कार्यरत हुनुहुन्छ। उहाँको नेतृत्वमा विश्वविद्यालयले आफ्नो संस्थागत आधार निर्माण गर्दै अघि बढिरहेको छ।

मधेश विश्वविद्यालयको शैक्षिक गतिविधि सञ्चालनका लागि वीरगञ्जस्थित नेपाल ट्रेडिङ लिमिटेडको पुरानो भवनलाई मर्मत तथा व्यवस्थापन गरी पठनपाठन सुरु गरिएको छ। सीमित स्रोत र पूर्वाधारका बाबजुद विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गुणस्तरीय उच्च शिक्षाको नयाँ केन्द्रका रूपमा विकास गर्ने प्रयास जारी रहेको छ।

शिक्षा, अनुसन्धान, नवप्रवर्तन र व्यवहारिक शिक्षामा जोड दिँदै प्रा.डा. शाक्यले मधेश प्रदेशमा उच्च शिक्षाको नयाँ सम्भावना सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ। उहाँको योगदानले वीरगञ्ज मात्र नभई समग्र मधेश प्रदेशलाई शैक्षिक दृष्टिले नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...