सोलखपुरमा आधुनिक छठीघाट उद्घाटन , धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

Date:

पर्सा पोस्ट, असार २८ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक सुविधासम्पन्न छठीघाटको आज एक भव्य समारोहका बीच समुद्घाटन गरिएको छ। वडा कार्यालय वीरगञ्ज–३१ को विनियोजित बजेट तथा वीरगञ्ज महानगरपालिकाको नगरस्तरीय थप बजेटको संयुक्त लगानीमा निर्माण गरिएको उक्त छठीघाट स्थानीय बासिन्दाको लामो समयदेखिको माग र आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको हो।

छठीघाट व्यवस्थापन समिति तथा सोलखपुर गाउँवासीको संयुक्त आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले रिबन काटेर तथा नवनिर्मित छठीघाटको शिलालेख अनावरण गर्दै औपचारिक रूपमा घाटको उद्घाटन गर्नुभएको हो।

कार्यक्रम वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले वीरगञ्ज महानगरपालिका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्थानीय उपभोक्ता समिति, वडा कार्यालय तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण निर्धारित समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न भएको उल्लेख गर्नुभयो।

“धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएका यस्ता संरचनाले सामाजिक एकता सुदृढ गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछन्,” कार्यवाहक प्रमुख आलमले भन्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले वडाको बजेट तथा महानगरपालिकाको सहयोगमा सोलखपुरवासीको वर्षौंदेखिको सपना साकार भएको बताउनुभयो। उहाँले छठ पर्वका बेला श्रद्धालु भक्तजनलाई सहज र सुरक्षित वातावरणमा पूजा–आराधना गर्न सक्ने गरी आवश्यक पूर्वाधारसहित घाट निर्माण गरिएको जानकारी दिनुभयो।

वडा अध्यक्ष यादवले आगामी दिनहरूमा पनि वडाभित्रका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा धार्मिक पूर्वाधार निर्माणका योजनालाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले नवनिर्मित छठीघाटले विशेषगरी छठ पर्वका अवसरमा हुने भीड व्यवस्थापन, सरसफाइ तथा सुरक्षामा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले आधुनिक संरचनायुक्त घाट निर्माण भएपछि धार्मिक गतिविधिसँगै स्थानीय क्षेत्रको सौन्दर्य वृद्धि भएको समेत बताएका छन्।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, छठीघाट व्यवस्थापन समितिका पदाधिकारी तथा ठूलो संख्यामा स्थानीय सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...