पर्सा पोस्ट , जेष्ठ २१ गते , बिरगंज ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी नवजात शिशुलाई जिउँदै खाल्डोमा पुरेर हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार घर भई हाल सिद्धार्थ टोलमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मैना थापा रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मैनाले आफ्नी ३१ दिनकी छोरी प्रिन्सी थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका पति गोपाल थापाले फेला पारेका थिए। घटनापछि तत्काल शिशुको उद्धार गरी उपचारका लागि तनहुँ सेवा अस्पताल, दुलेगौँडा लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले आमा मैना थापालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मैना लामो समयदेखि डिप्रेसनसम्बन्धी औषधि सेवन गर्दै आएको खुलेको छ। घटनाको वास्तविक कारण तथा मानसिक अवस्थाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा ठूलो स्तब्धता र दुःख पैदा गरेको छ। नवजात शिशुमाथि भएको यस्तो अमानवीय घटनापछि स्थानीयवासीले मानसिक स्वास्थ्यप्रति राज्य र समाजले थप संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।