पर्सा पोस्ट , जेष्ठ ०४ गते , काठमाडौं ।
नेपाली कांग्रेसले सुरु गरेको सार्वजनिक बहस मञ्च ‘ग्रिन टेबल’ को संयोजनको जिम्मेवारी युवा नेता कञ्चन झा लाई दिइएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले झालाई ग्रिन टेबल उपसमितिको संयोजक चयन गरेको हो।
पार्टीभित्र नीतिगत बहस, वैचारिक विमर्श तथा सार्वजनिक संवादलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित स्थापना गरिएको ‘ग्रिन टेबल’ अब झाको नेतृत्वमा थप सक्रिय हुने अपेक्षा गरिएको छ।
संयोजक नियुक्तिपछि झाले ‘ग्रिन टेबल’ लाई केवल औपचारिक छलफलको मञ्च नभई लोकतान्त्रिक बहस, नीति निर्माण र जनसरोकारका विषयमा गम्भीर विमर्श हुने साझा प्लेटफर्मका रूपमा विकास गरिने बताएका छन्। उनले युवापुस्तालाई राजनीति, नीति र लोकतान्त्रिक अभ्याससँग जोड्ने अभियानलाई अझ सशक्त बनाइने पनि उल्लेख गरे।
झा नेपाली कांग्रेसभित्र वैचारिक बहस, नीतिगत सुधार तथा युवा परिचालनका क्षेत्रमा सक्रिय युवा नेताका रूपमा परिचित छन्। विशेषगरी युवालाई लोकतान्त्रिक मूल्य, राजनीतिक चेतना र सार्वजनिक नीतिसँग जोड्न उनी निरन्तर सक्रिय रहँदै आएका छन्।
पार्टीका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न विषयगत समिति, अध्ययन तथा सार्वजनिक संवाद कार्यक्रममार्फत पार्टीको वैचारिक आधारलाई थप बलियो बनाउने लक्ष्य अघि सारेको छ।
सोही अभियानअन्तर्गत सुरु गरिएको ‘ग्रिन टेबल’ मा समसामयिक राष्ट्रिय मुद्दा, सुशासन, लोकतान्त्रिक अभ्यास, सामाजिक न्याय, सार्वजनिक नीति तथा नागरिक सरोकारका विषयमा नियमित बहस र अन्तरक्रिया गरिनेछ।
संयोजक झाका अनुसार ‘ग्रिन टेबल’ नामको आफ्नै प्रतीकात्मक अर्थ रहेको छ। उनले हरियो रंग नेपाली कांग्रेसको राजनीतिक पहिचान, रूख चिन्ह, कृषि, वनजंगल, जनजीवन र सामाजिक यथार्थसँग जोडिएको बताएका छन्।
उनले भने, “ग्रिन टेबललाई सार्वजनिक नीति र लोकतान्त्रिक संस्कृतिबीचको जीवन्त संवादस्थल बनाउने हाम्रो लक्ष्य हो। युवापुस्ताको सहभागिता, विज्ञहरूको सुझाव र नागरिक समाजको आवाजलाई नीतिगत बहससँग जोड्दै प्रभावकारी लोकतान्त्रिक विमर्शलाई अघि बढाइनेछ।”
‘ग्रिन टेबल’ अन्तर्गत प्रत्येक हप्ता समसामयिक विषयमा विज्ञ, राजनीतिज्ञ, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाको सहभागितामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। ती कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई पार्टीका नेता तथा जनप्रतिनिधिको कार्यशालामार्फत थप परिष्कृत गरी नीतिगत सुधारका लागि मार्गदर्शनका रूपमा उपयोग गरिने प्रतिष्ठानले जनाएको छ।