पर्सा पोस्ट , बैशाख २७ गते , चितवन ।
नेपालको चितवन जिल्लामा सनातन संस्कार, वातावरणप्रतिको सम्मान र विकासबीचको सन्तुलनको एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरिएको छ। देवघाट सडक विस्तार तथा स्तरोन्नतिको क्रममा सडकमा अवरोध पुर्याइरहेका रूखहरू हटाउनुअघि धार्मिक विधिअनुसार पूजा–आराधना गरिएको घटनाले अहिले सर्वत्र प्रशंसा बटुलेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा पुजारीहरूले वैदिक मन्त्र उच्चारण गर्दै रूखहरूको पूजा गरेका थिए। कार्यक्रममा रोली–मोली लगाउने, फूल चढाउने, नरिवल अर्पण गर्ने तथा रूखसँग क्षमायाचना गर्दै प्रार्थना गर्ने परम्परागत विधि सम्पन्न गरिएको थियो। त्यसपछि मात्र आवश्यक उपकरण प्रयोग गरी रूख काट्ने कार्य अघि बढाइएको थियो।
उक्त कार्यक्रममा सामाजिक अभियन्ता, सञ्चारकर्मी, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले विकासका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भए पनि प्रकृति र जीवप्रतिको सम्मानलाई कहिल्यै बिर्सन नहुने धारणा व्यक्त गरेका थिए।
स्थानीयवासीका अनुसार देवघाट सडक क्षेत्रमा रहेका केही पुराना रूखहरूले सडक विस्तारमा अवरोध पुर्याइरहेका थिए। ती रूख हटाउन आवश्यक भए पनि धार्मिक तथा सांस्कृतिक मूल्यलाई आत्मसात गर्दै गरिएको पूजा–आराधनाले सकारात्मक सन्देश दिएको उनीहरूको भनाइ छ।
सनातन परम्परामा वनस्पति र प्रकृतिलाई देवतासरह मान्ने मान्यता रहेको छ। त्यसैले कुनै पनि जीवित वस्तु नष्ट गर्नुअघि क्षमा माग्ने तथा सम्मान प्रकट गर्ने संस्कारलाई उच्च आदरका साथ हेर्ने गरिन्छ। चितवनमा गरिएको यो कार्यले आधुनिक विकास र परम्परागत संस्कृतिबीच सन्तुलन कायम गर्न सकिने सन्देश दिएको छ।
पर्यावरणविद्हरूले पनि यस्तो अभ्यासले प्रकृतिप्रतिको जिम्मेवारी र संवेदनशीलता बढाउने बताएका छन्। विकासका नाममा अन्धाधुन्ध रूपमा प्रकृति दोहन भइरहेका बेला चितवनमा गरिएको यो अभ्यास अन्य स्थानका लागि समेत अनुकरणीय बन्न सक्ने विश्वास गरिएको छ।