पर्सा पोस्ट, बैशाख २४ गते, रक्सौल, पूर्वी चम्पारण ।
सामाजिक जीवनमा अपराधबोध, डर, हीनता तथा त्यसबाट उत्पन्न हुने चिन्ताले व्यक्तिको क्षमता र व्यक्तित्वलाई कमजोर बनाउने सामाजिक कार्यकर्ता बिमल सर्राफले बताएका छन्।
लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी एवं भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक तथा मिडिया प्रभारी समेत रहेका सर्राफले प्रेससँग कुरा गर्दै यस्ता मानसिक अवस्थाले व्यक्तिको सामाजिक र व्यावसायिक जीवनमा नकारात्मक असर पार्ने उल्लेख गरे।
उनले लामो समयसम्म रहने नकारात्मक सोच, आत्महीनता र डरले मानिसलाई तनाव तथा डिप्रेसनतर्फ धकेल्ने बताए। “जति छिटो व्यक्तिले आफ्नो मानसिक तनाव र नकारात्मक सोचलाई चिन्न र त्यसबाट बाहिर निस्कन प्रयास गर्छ, त्यति नै व्यक्तित्व विकासका लागि लाभदायक हुन्छ,” उनले भने।
सर्राफका अनुसार यदि नकारात्मक सोच व्यक्तिको स्वभावकै हिस्सा बनिसकेको छ भने त्यसलाई परिवर्तन गर्न समय लाग्ने भए पनि धैर्य, समझदारी र दृढ इच्छाशक्तिबाट त्यसलाई पार गर्न सकिन्छ। उनले पहिले आफ्ना नकारात्मक आत्म–वार्तालाई स्वीकार गर्न र बुझ्न आवश्यक रहेको बताए।
उनले दीर्घकालीन नकारात्मक सोचले व्यक्तित्वलाई गहिरो रूपमा असर गर्ने भएकाले त्यसविरुद्ध मानसिक तथा व्यवहारिक रूपान्तरणको अभियान आवश्यक पर्ने धारणा राखे। “सकारात्मक आत्म–संवाद, आत्म–सम्मान र आत्म–विश्वासको विकास आजको आवश्यकता हो,” उनले बताए।
सर्राफले सकारात्मक आत्म–अवधारणाले व्यक्तिलाई नैतिक र सामाजिक क्षेत्रसँगै आध्यात्मिक चेतनासँग पनि जोड्ने उल्लेख गर्दै यसले गहिरो आत्म–सम्मानको भावना विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।