पर्सा पोस्ट, बैशाख २४ गते, वीरगञ्ज ।
चुनावका बेला विष्फोटक पदार्थ बरामद भएको घटनासँग जोडिएका प्रतिवादी नेता मनोजकुमार चौधरी उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतले यसअघि थुनामा पठाउने आदेश दिएको भए पनि उच्च अदालतले उक्त आदेश बदर गर्दै रु २ लाख ५० हजार धरौटी वा सो बराबरको बैंक जमानतमा रिहा गर्न आदेश दिएको हो।
उच्च अदालतले निवेदन तथा प्रतिवेदनसहितको मिसिल अध्ययनपछि चौधरीमाथि तत्काल थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको ठहर गरेको छ। अदालतमा चौधरीका तर्फबाट अधिवक्ताद्वय रामचन्द्र सिंह र सुधिरकुमार कर्णले बहस गरेका थिए भने प्रतिवादी सुरज कार्कीका तर्फबाट अधिवक्ता चन्द्रिकाप्रसाद पटेल तथा नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका उपन्यायाधिवक्ता बुद्धिलाल श्रेष्ठले बहस प्रस्तुत गरेका थिए।
अदालतको आदेशअनुसार बा.१० च १२५० नम्बरको कारबाट विष्फोटक पदार्थ बरामद भएको भनिए पनि उक्त सवारी साधन मनोजकुमार चौधरीको स्वामित्वमा रहेको पुष्टि नभएको उल्लेख गरिएको छ। साथै, चौधरीले आरोपित कसूरमा इन्कार गर्दै बयान दिएको र अनुसन्धानका क्रममा संलग्नता पुष्टि गर्ने ठोस प्रमाण तत्काल प्राप्त नभएको अदालतले जनाएको छ।
उच्च अदालतले बरामद गरिएको विष्फोटक पदार्थको प्रकृति, स्रोत तथा प्रयोगसम्बन्धी थप प्रमाण आवश्यक रहेको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दै थुनामा राख्नु उपयुक्त नदेखिएको निष्कर्ष निकालेको हो। सोही आधारमा पर्सा जिल्ला अदालतले २०८२ चैत १२ गते दिएको थुनछेक आदेश बदर गरिएको आदेशमा उल्लेख छ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ अनुसार चौधरीसँग रु २ लाख ५० हजार धरौटी माग गर्ने आदेश दिएको छ। तोकिएको रकम वा सो बराबरको बैंक जमानत पेश गरे तारेखमा राख्ने, अन्यथा पुनः थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिने आदेशमा उल्लेख गरिएको छ।
यता, प्रतिवादी सुरज कार्कीको झोलाबाट सोही सवारी साधनभित्र विष्फोटक पदार्थ बरामद भएको दाबी तथा उपलब्ध प्रारम्भिक प्रमाणका आधारमा उनीमाथिको आशंका कायमै रहेको अदालतले जनाएको छ। त्यसैले सुरज कार्की र सत्यनारायण दास थारूलाई जनही रु १ लाख ५० हजार तथा सहाब आलम अन्सारीलाई रु २ लाख धरौटी माग गर्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले यथावत् राखेको छ।
उच्च अदालतले अन्य प्रतिवादीहरूको हकमा जिल्ला अदालतको आदेश कानूनसम्मत रहेको निष्कर्ष निकाल्दै परिवर्तन आवश्यक नदेखिएको जनाएको छ।