रौतहटमा बोक्सीको आरोपमा दलित महिलामाथी अमानवीय अत्याचार , मल – मूत्र खुवाईएको घटना सार्वजनिक

Date:

पर्सा पोस्ट, बैशाख २० गते, रौतहट :
रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक दलित महिलामाथि अत्यन्त अमानवीय तथा जघन्य व्यवहार गरिएको घटना सार्वजनिक भएको छ।

कटहरिया नगरपालिका–९ निवासी ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई स्थानीय केही व्यक्तिहरूले जबर्जस्ती मानव मल–मूत्र खुवाएको घटनाले समग्र समाजलाई स्तब्ध बनाएको छ।

प्राप्त विवरणअनुसार छिमेकी पुकार माझीको घरमा आयोजित बिहे समारोहमा पर्साबाट आएका जन्तीमध्ये एक १० वर्षीय बालकले उल्टी गरेपछि त्यसैलाई निहुँ बनाउँदै अंकलिया देवीमाथि जादूटुना गरेको आरोप लगाइएको थियो। सोही आरोपका आधारमा शनिबार साँझ करिब ७ बजेतिर १५–२० जनाको समूह उनको घरमा प्रवेश गरी कुटपिट गर्दै बियरको बोतलमा घोलेको मल–मूत्र जबर्जस्ती खुवाएको पीडिताकी छोरी सुमिला देवी मुसहरिनले जानकारी दिइन्।

घटनाको समयमा घरमा आमा–छोरी मात्रै रहेको र विरोध गर्दा आफूलाई समेत कुटपिट गरिएको सुमिलाले बताइन्। पीडिताका अनुसार घटनामा पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी, शंकर माझी, सुरेन्द्र ठाकुर, गौरी साहलगायत एक दर्जनभन्दा बढी व्यक्तिको संलग्नता रहेको आरोप छ।
घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायव निरीक्षक मोहन आले मगरको नेतृत्वमा खटिएको टोलीले अचेत अवस्थामा रहेकी महिलाको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तर, घटनालगत्तै आरोपीहरूलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आरोपित पक्षले अवरोध खडा गर्नुका साथै आक्रमणको प्रयास समेत गरेको बताइएको छ। स्थिति तनावपूर्ण बनेपछि क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाइएको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकर प्रसाद आचार्यले घटनाको गम्भीर अनुसन्धान भइरहेको र दोषीहरूलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। आरोपीहरूको खोजीका लागि थप प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

स्थानीय मुसहर समुदायमा बिहेपछि बेहुली पक्षबाट भोलिपल्ट ‘सरियतिया’ जाने चलनअनुसार भोजभतेर गर्ने परम्परा रहेको छ। तर, यही सामाजिक परिवेशबीच घटेको यस प्रकारको क्रूर घटनाले अन्धविश्वास र सामाजिक विकृतिको भयावह रूप उजागर गरेको छ।

मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि तत्काल कडा कारबाही र पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यार्थीको आँखाको नि:सुल्क परिक्षण , चश्मा तथा औषधि वितरण

पर्सा पोस्ट , जेष्ठ ०६ गते , वीरगञ्ज । नेपाल...

प्रतिभा पहिचान र समाज रुपान्तरणमा गुरुको भूमिका महत्वपूर्ण : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ०६ गते , रक्सौल, पूर्वी...

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान , सरसफाइ र स्वास्थ्य शिबिर सहित वर्षिकोत्सव मनाईदै

पर्सा पोस्ट , जेष्ठ ०६ गते , वीरगञ्ज । महालक्ष्मी...