पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज ।
वीरगञ्ज समाज सेवाको आयोजनामा वीरगञ्जस्थित नारायणी अस्पतालमा लगातार २४ औँ महिनाको चौथो तथा अन्तिम साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न भएको छ।
पछिल्ला दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत अस्पतालमा उपचाररत बिरामी, उनीहरूका कुरुवा, असहाय व्यक्तिहरू, रिक्सा तथा ई–रिक्सा चालक, यात्रु र बटुवाहरूलाई घरमा बनाएको जस्तै सफा, सुस्वादु, शुद्ध तथा पोषिलो भोजन उपलब्ध गराइएको थियो।
कार्यक्रममा बोल्दै आयोजक संस्था वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै विगत दुई वर्षदेखि प्रत्येक शनिबार करिब ४५० देखि ५०० जनासम्मलाई भोजन सेवा प्रदान गर्दै आएको जानकारी दिए। उनले दिनदुखी तथा असहायको सेवा गर्दा प्राप्त हुने आत्मसन्तुष्टि र खुशी नै आफूहरूका लागि सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै सबैलाई आफ्नो स्थानबाट सेवा कार्यमा हातेमालो गर्न आग्रह गरे। साथै, अभियानमा साथ दिने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरे।
यसै अवसरमा बरनवाल सेवा समिति पर्साका उपाध्यक्ष तथा समाजसेवी राजेश बरनवालले नारायणी अस्पताल जस्तो विपन्न र असहायहरूको प्रमुख उपचारस्थलमा निरन्तर निशुल्क भोजन सेवा सञ्चालन हुनु अत्यन्त प्रशंसनीय कार्य भएको बताए। उनले मानवता सुदृढ बनाउन यस्ता सामाजिक अभियानमा सबैको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे।
शनिबारको भोजन कार्यक्रममा सेवकहरूले शुद्ध शाकाहारी परिकारका रूपमा भात, दाल, आलु–कोभी मिश्रित तरकारी, हरियो भुटेको खुर्सानीको अचार तथा ताजा काक्रो वितरण गरेका थिए। वृद्ध, महिला तथा बालबालिकालाई विशेष प्राथमिकताका साथ बोलाइ–बोलाइ थप–थप गरी सेवा प्रदान गरिएको थियो।
अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरनवाल सेवा समितिका उपाध्यक्ष राजेश बरनवाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायत बिरेन्द्र आर्य, निशान्त लाठ, देवव्रत आर्य, मुकेश अग्रवाल, अरमान अली, बजरङ अग्रवाल र सुरज श्रीवास्तवले सक्रिय रूपमा सेवा दिएका थिए।